कञ्चनपुरका तीनवटा क्रसरका विद्युत काटियो
गैरकानुनी रुपमा सञ्चालन भएका तीनवटा क्रसर उद्योगको विद्युत आपूर्ति बन्द गरिएको छ । कञ्चनपुरको बेदकोट, कृष्णपुर र दोधारा चाँदनी नगरपालिकाका तीन क्रसर उद्योगको लाइन काटिएको हो ।
विभिन्न आयोजनाको नाममा लामो समयदेखि सोही स्थानमा सञ्चालित निर्माण सामग्री केन्द्र, बासुलिङ कन्सट्रक्सन र गौरव बिल्डर्स गैरकानुनी रुपमा सञ्चालनमा भएको भन्दै अख्तियारमा उजुरी परेको थियो ।
अख्तियारले थप अनुसन्धान गर्न भन्दै जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरलाई पत्राचार गरेको प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बताए । उनका अनुसार जिल्ला समन्वय समितिका संयोजकको अध्यक्षतामा रहेको जिल्ला अनुगमन समितिले स्थलगत अनुगमनपछि तीन वटा क्रसरको विद्युत आपूर्ति बन्द गरिएको हो ।
क्रसर उद्योग मापदण्डविपरीत सञ्चालन भएको हुनाले हालका लागि त्यसको लाइन काटिएको उनले जानकारी दिए । यससम्बन्धमा थप कारबाहीको प्रक्रियासमेत अघि बढाइसकेको प्रजिअ पाण्डेको भनाइ छ ।
टिप्पणीहरू