ताप्लेजुङको चुनावी चित्र र सम्भावित परिणाम
-कमल भट्टराई
अघिल्लो स्थानीय चुनावमा एमालेले ताप्लेजुङ जिल्लामा बहुमत पालिका जितेर जिल्ला समन्वय समिति कब्जा गरेको थियो । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा त्यहि विरासत जोगाउन कस्सिएर लागेको एमालेका लागि पार्टी विभाजन र सत्तारुढ पाँचदलीय गठबन्धन टाउको दुखाइको विषय बनेको छ ।
प्रधानमन्त्री भइसकेका र पटक–पटक एमालेको नेतृत्व सम्हालिसकेका माधव नेपाल र झलनाथ खनालले विद्रोह गरेर एकीकृत समाजवादी गठन गरेपछि त्यसको प्रभाव स्वभाविकरुपमा ताप्लेजुङमा पनि परेको छ । एमालेबाट विद्रोह गरेको त्यही समाजवादी पाँचदलीय गठबन्धनको प्रमुख शक्तिका रुपमा चुनावी मैदानमा होमिएको छ । त्यसैले एमालेका लागि ०७४ को नतिजा दोहोर्याउन कठिन त छँदैछ साथै गठबन्धनको प्रभावकारिता र समाजवादीले काट्ने भोटले नै जित–हारको फैसला गर्ने एमालेहरुको बुझाइ छ ।
जिल्लाको लगभग चार हजार मत समाजवादीतिर जाने गठबन्धनका नेताहरुको आकलन छ । यसअघि एमालेलाई भोट हालेका लगभग दुई हजार मतदाता यस पटक काँग्रेसमा लागेको हिसाब उनीहरुले गरेका छन् । एमालेले भने समाजवादीतर्फ गएको मत माओवादी केन्द्र र विप्लव समूहबाट भरपुर्ताल गरिसकेकाले घाटामा नरहेको हिसाब निकालेको छ । त्यस्तै, ७४ को चुनावपछि केही कार्यकर्ता काँग्रेसमा जाँदा भएको क्षति काँग्रेसभित्रैबाट असूलउपर गर्न सकिने आत्मविश्वासमा एमालेका नेताहरु देखिन्छन् ।
चुनावका बेला दलहरुले गर्ने आ—आफ्नै दाबी र दाउपेच अन्यथा होइन । तर, गत चुनावको मतपरिणाम र पछिल्लो शक्ति सन्तुलनले सत्ता गठबन्धन र एमालेबीच निकै कडा प्रतिस्पर्धा हुने देखिएको छ । राप्रपा, जसपा, लिम्बुवान, विप्लव समूहलगायतले पनि चुनावी परिणाममा धेरथोर प्रभाव भने पार्ने निश्चितै छ ।
गत चुनावको परिणाम र अहिलेको परिस्थिति विश्लेषण गर्दा एमालेका लागि पाथीभरा याङवरक तुलनात्मकरुपमा सहज देखिन्छ । सिदिङ्बा गाउँपालिकामा पनि माओवादीभित्र खेलेर एमालेले अनुकूल परिस्थिति बनाउने प्रयत्न गरिरहेको छ । त्यहाँ पार्टीले अघि सारेको उपाध्यक्षका उमेदवारलाई अन्तिममा ब्याक गराएर माओवादीका नेता जीवन ताम्लिङ्लाई स्वतन्त्र उमेदवार बनाएर माओवादीतिरको असन्तुष्ट मत बटुल्ने एमालेको रणनीति छ । त्यो रणनीति सफल हुँदा परिणाम एमालेले सोचेजस्तै आउन सक्छ, अन्यथा गठबन्धनकै पल्लाभारी हुने देखिन्छ ।
मेरिङदेन गाउँपालिकामा पनि एमालेले माओवादीका असन्तुष्ट स्वतन्त्र उमेदवारलाई सघाउने गरि तालमेल गरेको छ । उपाध्यक्षका आफ्ना उम्मेदवारलाई उम्मेद्वारी झिक्न लगाएर माओवादीका विद्रोहीलाई दिएको एमालेले अध्यक्ष सुरक्षित गर्न जोडबल गरिरहेको छ । मेरिङदेनमा काँग्रेस दर्बिलो छ भने समाजवादी पनि मजबुतै छ । जसका कारण अध्यक्ष र उपाध्यक्ष दुवै गुमाउनुपर्ने देखेर एमालेले माओवादीका बागीसँग हात मिलाएको हो ।
यता, फक्ताङलुङ गाउँपालिकाबाट नेपाली काँग्रेसका मुख्य हस्तिहरु मणी लाबुङ, भद्र बोखिमलगायतका नेता–कार्यकर्ता प्रवेश गरेका कारण एमालेको पक्षमा नतिजा आउने धेरैको आकलन छ । तथापि समाजवादीले काट्ने मतभन्दा काँग्रेस नेताहरुले ल्याउने मत निकै कम भएकाले एमालेलाई ढुक्क हुने अवस्था छैन भनिन्छ । ०७४ मा एमालेको कब्जामा रहेको मैवाखोला गाउँपालिकामा पनि गठबन्धन नै बाधक हुने देखिएको छ । गठबन्धनले आक्रमक चुनावी अभियान थालेकाले एमालेलाई माहोल आफूतिर फर्काउन चानचुने कसरतले पुग्ने देखिँदैन ।
ताप्लेजुङको एक मात्र नगरपालिका फुङलिङमा पनि गठबन्धन र एमालेबीच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ । तर, दुबै पक्षबाट हुने मत चुहावटलाई कसले कति रोक्न सक्छ त्यसले परिणामको प्रभाव पर्ने अनुमान गरिएको छ । त्यहाँका एमाले र काँग्रेसका असन्तुष्ट नेता तथा कार्यकर्ताहरुले पत्रकार सम्मेलन गरेर उमेदवारी छनौटको आलोचना गर्दै निर्वाचन परिणामको जिम्मेवारी आफूहरुले नलिने सार्वजनिक घोषणा नै गरेका छन् । त्यसैले दुबैतिरका यिनै असन्तुष्ट नेता तथा कार्यकर्ताको मत कहाँ र कसरी प्रयोग हुन्छ त्यसले फुङलिङको परिणाम प्रभाव पार्ने स्थानीय बुद्धिजीवीहरु बताउँछन् ।
टिप्पणीहरू