एमाले अध्यक्षले भाषण गरेको मैदानमा फोहोरको डुंगुर
खेल मैदानलाई राजनीतिक पार्टीहरुले आफ्नो चुनावी सभास्थल बनाएपछि खेलाडीहरु प्रशिक्षणबाट बञ्चित भएका छन् । स्थानीय तहको चुनाव नजिकिएसँगै केही दिनयता हेटौंडाको हुप्रचौरमा दलहरूले लगातार आमसभा गर्न थालेका हुन् । आमसभाका कारण विभिन्न खेलका खेलाडीको प्रशिक्षण प्रभावित भएको छ ।
नेकपा एमालेले आइतबार गरेको आमसभाका क्रममा हुप्रचौरमा भएको फोहोर अझैसम्म उठाइएको छैन । फोहोरकै कारण खेलाडीहरू खेल मैदानमा जान नसकेको बताइएको छ । फोहोरले हुप्रचौर आसपासमा समेत दुर्गन्ध फैलिएको छ । आमसभामा अध्यक्ष केपी शर्मा ओलीले भाषण गर्नुभएको थियो ।
यसअघि नगर विकास समितिले हुप्रचौरमा मेला, महोत्सव तथा राजनीतिक दलका कार्यक्रममा प्रतिबन्ध लगाएको थियो । तर, ठूला नेतालाई बोलाएर आमसभा गर्न राजनीतिक दलहरुलाई त्यस्तो प्रतिबन्धले कुनै प्रभाव पारेको छैन ।
केही साताअघि राप्रपा मकवानपुरले राजेन्द्र लिङ्देनलाई बोलाएर हुप्रचौरमै एमालेको जस्तै सभा गरेको थियो । यद्यपि, राप्रपाले भने कार्यक्रमको भोलिपल्टै सफा गरेको थियो ।
एमालेले कार्यक्रमपछि टेण्टको खम्बा गाड्न बनाएको खाल्डोसमेत नपुरेको खेलाडीहरु बताउँछन् । उसले हुप्र चौरमा गरेको फोहोर र खाल्डोको बारेमा सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । सञ्जाल प्रयोगकर्ताले फोहोर र खाल्डाखुल्डीको तस्बिर पोष्ट गर्दै कसले सरसफाई गर्ने ? भनेर प्रश्न गरेका छन् । ती तस्बिरहरू सामाजिक सञ्जालमा भाइरलसमेत भएका छन् ।
‘यो हुप्रचौर हामी सबैको सम्पत्ति हो । यसको संरक्षण गर्नु हाम्रो दायित्व हो,’ एक स्थानीयले भने, ‘केही वर्ष यस्ता कार्यक्रम भएका थिएनन् । फेरि राजनीतिक दलले हुप्रचौरलाई दुरुपयोग गर्न थालेका छन् ।’
एमाले मकवानपुर अध्यक्ष एकलाल श्रेष्ठले आजै खाल्डा पुर्ने र सरसफाइ गर्ने कार्यक्रम रहेको बताए । कार्यक्रम सकिएपछि पनि सरसफाई गरिएको तर कतै खाल्डो र फोहोर बाँकी रहेको भए त्यसलाई पनि सफा गरिने उनले जानकारी दिएका छन् ।
टिप्पणीहरू