भोट खसाल्ने ठाउँ भुईं तलामै हुनुपर्छ : निर्वाचन आयोग
निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि मतदान कक्ष भुईं तलामै हुनुपर्ने बताएको छ । स्थानीय तह निर्वाचन निर्देशिकाबमोजिम भर्याङ वा सिँढी चढेर जानुपर्ने गरि गोप्य मतदान कक्ष नबनाउन आयोगले मतदान अधिकृतहरुलाई स्मरण गराएको हो ।
मतदान केन्द्र बनाउँदा बाहिरपट्टि सबैले देख्नेगरी ’धुम्रपान निषेधित क्षेत्र’ र ’हातहतियार निषेधित’ लेखिएको कार्ड अनिवार्य झुण्डाउन पनि आयोगले भनेको छ । निर्देशिकाअनुसार मतदाता प्रवेशद्वारमा ‘भित्र’ र मतदाता बाहिर निस्कने द्वारमा ‘बाहिर’ लेखिएको कार्ड सबैले देख्ने गरी टाँस्न, होचो कदका मतदाताले पनि सजिलै मत खसाल्न सक्नेगरि मतपेटिका राख्न र मतदान केन्द्रभित्र मोबाइल फोन निषेध गराउन आयोगले आग्रह गरेको छ ।
त्यसैगरी, मतदान केन्द्रभित्र सकेसम्म आयोगले दिएको पोस्टर टाँस्न सुझाइएको छ । उम्मेदवार वा राजनीतिक दलका पर्चा, पम्प्लेट, पोस्टर र प्रचार सामग्री मतदान केन्द्रभित्र नटाँस्न भनिएको छ । मतदान सम्पन्न भएपछि मतदान केन्द्रको सरसफाइको प्रबन्ध मतदान अधिकृतले नै मिलाउनुपर्ने प्रष्ट निर्देशन पनि दिइएको छ ।
गर्भवती, सुत्केरी, अशक्त र वृद्ध मतदाताको लागि विश्राम गर्ने ठाउँ, मतदाताको नाम रुजु गर्ने ठाउँ, मतदान गरेका व्यक्ति पुनः मतदान कक्षमा फर्किन नपाउने गरी सुरक्षाको प्रबन्ध मिलाउन पनि आयोगले निर्देशन दिएको छ ।
मतदान केन्द्र तोकिएको स्थानमा विद्यालय वा भवन नभएमा खुला ठाउँमा पाल, त्रिपाल वा कुनै अन्य वस्तुले छेकबार गरी मतदान गर्न मिल्ने ठाउँको व्यवस्थापन गर्न भनिएको छ । यसरी निर्माण गरिएको मतदान केन्द्रमा मतदान कार्य सञ्चालनका लागि आवश्यक पर्ने टेबुल, बेञ्च, कुर्सीलगायत सामग्रीको व्यवस्था मिलाउँदा सकेसम्म अपांगतामैत्री बनाउनुपर्नेमा आयोगको जोड छ ।
स्थानीय बासिन्दाको सहयोगमा खानेपानी र शौचालयको व्यवस्थापन गर्न पनि आयोगले आग्रह गरेको छ । त्यस्तै, मतपेटिका नजिक मतदान केन्द्रको समग्र कार्यको निरीक्षण गर्न सक्नेगरी मतदान अधिकृत बस्ने ठाउँ पनि राखिएको हुनुपर्दछ । मतदाताको नाम रुजु गर्ने कर्मचारी र लामबद्ध मतदाताको बीच भागमा सुरक्षाकर्मीलाई राख्न र अपुग भएको अवस्थामा स्वयंसेवक खटाउन आयोगले सुझाएको छ ।
टिप्पणीहरू