कम्बोडियामा १२ औं शताब्दीका पुरातात्विक महत्वका सम्पदा भेटियो

कम्बोडियामा १२ औं शताब्दीका पुरातात्विक महत्वका सम्पदा भेटियो

पुरातत्वविद्हरूले उत्खनन्को क्रममा उत्तरपश्चिम कम्बोडियाको सियामरिप प्रान्तको अंकोर पुरातात्विक पार्कमा १२ औं शताब्दी पुरानो ढुंगामा कोरिएका आकृतिहरु फेला पारेका छन् । अंकोर थोम मन्दिरको ताकाभ गेटको उत्तरी पर्खालमा ती महत्वपूर्ण पुरातात्विक सम्पदाहरु भेटिएको हो ।

सियामरिप अप्सरा राष्ट्रिय प्राधिकरण (एएनए) का अनुसार भेटिएका पुरातात्विक सम्पदामा अप्सरा वा परीको आकृति कुँदिएको छ ।

पुरातत्वविद् किम सेङ फिकडेको भनाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले लेखेको छ, ‘परीको आकृति कुँदिएको ढुंगाका टुक्रा र अन्य मूर्तिहरू ताकाभ गेटको उत्तरी पर्खालको रूपमा प्रयोग गरिएको रहेछ । ती सबै बायोन मन्दिरको खम्बामा कुँदिएको अप्सराको आकृतिसँग मिल्दोजुल्दो देखिन्छ ।’

फिकडे भन्छिन्, ‘१२ औं शताब्दीको उत्तराद्र्धमा ताकाभ गेट र बायोन मन्दिर एउटै समयमा निर्माण गरिएको हुनसक्छ, त्यसैले यी आकृतिहरुमा समानता पाइएको हो । यहाँ अरु धेरै देवीदेवताका मूर्तिहरु छन्, जुन उत्तरतर्फ पुरिएको अनुमान गरिएको छ । तिनलाई पनि अर्को चरणमा उत्खनन् गरिँदा निकालेर पुनस्र्थापित गर्नेछौं ।’

ताकाभ गेट अंगकोर थोमका पाँचवटा ढोकामध्ये एक हो । यो १२ औं शताब्दीको उत्तराद्र्धमा राजा जयवर्मन सातौंले बनाएको बताइन्छ ।

अंगकोर थोम, ४०१ वर्ग किलोमिटरमा फैलिएको कम्बोडियाको एउटा प्रमुख पुरातात्विक पार्कमा अवस्थित मुख्य मन्दिर हो । सन् १९९२ मा युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गरेका छ ।

स्रोतः सिन्ह्वा

टिप्पणीहरू