डा.झालाई चीनमा अर्को अवार्ड
चीनको सान्सी प्रान्तीय सरकारले नेपाली प्राध्यापक डा. राजीवकुमार झालाई सन् २०२२ को ‘सान छिन फ्रेण्डसीप अवार्ड’ प्रदान गरेको छ । चीनको सान्सी प्रान्तीय सरकारले प्रत्येक वर्ष प्रदान गर्ने उक्त अवार्ड यो वर्ष डा. झासहित उक्त प्रान्तमा रहेका अन्य १० देशका विशिष्ट व्यक्तित्वलाई प्रदान गरिएको हो ।
उक्त प्रान्तमा रहेर चीनको आर्थिक, सामाजिक, विज्ञान प्रविधि, स्वास्थ्य, संस्कृतिको विकासका साथै चीनसँग आआफ्नो देशको अन्तर्राष्ट्रिय सम्बन्धमा योगदान पुर्याएकाहरुलाई सो अवार्ड प्रदान गरिएको हो । सान्सी प्रान्तीय सरकारको सबैभन्दा ठूलो अवार्ड प्राप्त गर्नेमा झासहित संयुक्त राज्य अमेरिका, बेलायत, क्यानाडा, रुस, जर्मनी, दक्षिण कोरिया, स्वीट्जरल्याण्ड, नेदरल्याण्ड्स् र सर्वियाका नागरिका छन् ।
प्रान्तको राजधानी सियानस्थित सियान मेडिकल युनिभर्सिटीका प्राध्यापक झा सोही विश्वविद्यालयमा प्राध्यापन र अनुसन्धान गर्दै आएका छन् । उक्त अवार्ड प्राप्त गर्ने डा.झा पहिलो नेपाली भएका छन् । यसअघि उनलाई सन् २०१८ मा सियान सरकारले सियान फ्रेण्डसिप अवार्ड प्रदान गरेको थियो । उनको नाममा सियान सरकारले ‘चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजीव कुमार झा’ स्थापना गरेको छ ।
सियान मेडिकल युनिभर्सिटीमा स्थापना गरिएको सो केन्द्रमा क्यान्सर रोगसम्बन्धी अध्ययन, अनुसन्धानका साथै यससम्बन्धी दुई देशबीचको चिकित्सकीय अनुभव आदानप्रदान हुने गरेको बताइन्छ ।
टिप्पणीहरू