‘मसँग इन्स्पेक्टर डराउँछ, नेपालको कानुन डराउँछ’ भन्ने नक्कली म्यादी समातिए
म्यादी प्रहरीको पोशाकमा उत्तेजक भिडियो बनाएर सामाजिक सञ्जालमा भाइरल भएका किशोर पक्राउ परेका छन् । भिडियोमा भाइरल भएका १६ वर्षीय ती किशोरसहित अर्का एकजना पनि पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका–४ का नवराज रेग्मी र १९ वर्षीय पुरण भट्टराई रहेका छन् । रेग्मीले फेसबुक र टिकटकमा म्यादी प्रहरीको पोशाक लगाएर आफूलाई ’मिदी’ प्रहरी भन्दै उत्तेजक भिडियो पोष्ट गरेका थिए । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी जेसी शाहका अनुसार रेग्मीलाई म्यादीको पोशाक दिएर भिडियो बनाउन सघाउने भट्टराई पनि समातिएका हुन् ।
फेसबुक, टिकटक, युट्युब सबैतिर छाएका रेग्मीको सेल्फी भिडियोमा उनले आफूलाई म्यादी (उनको भाषामा मिदी) प्रहरीका रुपमा चिनाउँदै अराजक अभिव्यक्ति दिएका छन् । उनले भनेका छन्, ‘सागर, वसन्ते, किस्ने सबहरू नडरा न हो । तेरो दाइ मिदी भइसकेको छ । केटाहरू के खान मन छ बाटोमै खा, बाल भएन, जोइन तान्न मन छ भने पनि तान्दे !’
उनले अझै उत्तेजक हुँदै भनेका छन्, ’लड्न मन लागे लड । कसैलाई हान्न मन छ भने हान्दे, तेरो दाइ छ मिदी । माँ कसम निखिल उप्रेती मेरो नाम नेपालभर चिन्छ । इन्स्पेक्टर त डराउँछ । नेपालको कानुन डराउँछन् ।’
डिएसपी शाहका अनुसार म्यादीको पोशाकमा भिडियो बनाएर भाइरल हुने युवक म्यादी प्रहरी होइनन् । उनले आफ्नो दाइ अर्थात फुपुको छोरा पूरणको पोशाक लगाएर भिडियो बनाएका हुन् । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
टिप्पणीहरू