ओली प्रवृत्तिविरुद्ध प्रतिष्पर्धा, प्रचण्डसँग सहकार्य : नेता पौडेल
नेपाली कांग्रेसका बरिष्ठ नेता तथा पाँच दलीय गठबन्धनका संयोजक रामचन्द्र पौडेलले केपी ओली प्रवृत्तिसँग लड्न गठबन्धन आवश्यक परेको बताउनुभएको छ । उहाँले कांग्रेसको प्रतिस्पर्धी र प्रतिद्वन्द्वी शक्ति एमाले र ओली प्रवृत्ति रहेको भन्दै त्यसको प्रतिवादका गर्न गठबन्धन गरेको प्रष्ट पार्नुभयो ।
पाँच दलीय गठबन्धनले आज भरतपुरमा आयोजना गरेक बृहत चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले ओलीसंग प्रतिष्पर्धा र माओवादी केन्द्रसँग सहकार्य गर्नु आजको आवश्यकता भएको पनि बताउनुभयो । निर्वाचितबाटै लोकतन्त्र खतरामा पर्ने गरेको भन्दै नेता पौडेलले केपी ओलीबाट त्यो पुष्टि भएको उल्लेख गर्नुभयो । त्यसपछि नै गठबन्धनको सुरुआत भएको उहाँको भनाइ छ ।
‘तेस्रो विश्वका मुलुकमा जनताबाट चुनिएर गएका नेताबाट नै प्रजातन्त्र खतरामा छ भन्ने गरिन्छ, त्यो कुरा साकार पार्न यहाँ केपी ओली निस्किए’, नेता पौडेलले भनुभयो, ‘नेपालको लोकतन्त्र समाप्त पार्ने, नेपालको राजनीतिक स्थिरता खल्बल्याउन र विकासलाई अल्मल्याउन केपी ओली निमित्त नायक भएर निस्के । उनी कहीबाट निमित्त नायक बनेका छन्, यो कुरा सबै जनताले बुझ्नुपर्यो । त्यसकारण नेपाली कांग्रेसको प्रतिष्पर्धा र प्रतिद्दन्दी केपी ओली नेतृत्वको एमाले हो, माओवादी र प्रचण्ड होइन ।’
।
नेपालको संविधानले नै कांग्रेस र कम्युनिष्टबीच सहकार्य र एकताको बाटो देखाएकाले लोकतन्त्र र संविधानका पक्षधर शक्तिहरु गठबन्धनमा आएको पौडेलले बताउनुभयो । संविधान र चुनाव प्रणालीले कुनै पनि पार्टीको एकल बहुमत आउने अवस्था नरहेको भन्दै उहाँले भन्नुभयो, ‘भोलि मिलेर सरकार बनाउनु छ भने आजैबाट किन सहकार्य नगर्ने ?’
कांग्रेस चितवनका नेता कार्यकर्तालाई गठबन्धनको उम्मेदवारलाई मत दिएर जिताउन नेता पौडेलले आह्वान गर्नुभयो । चितवनका कांग्रेस नेताहरुको असन्तुष्टि मेटाउने प्रयास आफूले गरेको भए पनि यसप्रति बेवास्ता गरेको उहाँको गुनासो छ ।
टिप्पणीहरू