सेनाका विमान र हेलिकप्टरमा भरिभराउ यात्रु, एउटा पश्चिमतिर अर्को दक्षिणतिर
नेपाली सेनाको एउटा हेलिकप्टर र अर्को एउटा जहाजमा भरिभराउ यात्रु बसेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालगायत काँग्रेस नेताहरुको टोली बोकेर अस्ति विराटनगर गएको कासा एनए ०६२ विमान हिजो भरतपुर हुँदै फर्किएको छ । विराटनगरबाट अस्ति साँझ भरतपुर आएको विमान चढेर हिजो साँझ नेपाली काँग्रेसका नेतालगायत अन्य दलका नेताहरु राजधानी आएका हुन् ।
जहाजमा प्रधानमन्त्री देउवा, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित जना हिजो साँझ साढे ५ बजे काठमाडौं विमानस्थलमा ओर्लनुभएको हो ।
भरतपुरमा आयोजित सत्तारुढ पाँचदलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गरेर नेताहरु काठमाडौं आउनुभएको हो । सोही सभामा सम्बोधन गर्नुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भरतपुरमै बस्नुभएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री तथा जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ साँझ ५ बजे बुद्ध एयरको उडानमा भरतपुरबाट काठमाडौं फर्कनुभएको हो ।
यसअघि मन्त्री श्रेष्ठ र अध्यक्ष दाहाल बुद्ध एयरको उडानमा बिहान साढे १० बजे काठमाडौंबाट त्यसतर्फ जानुभएको थियो ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि हिजै बिहान १० बजे बुद्ध एयरको उडानमा काठमाडौंबाट भरतपुर जानुभएको हो ।
नेपाली सेनाको अगुस्टा एन एन ०५९ हेलिकप्टरमा प्रधानसेनापति प्रभुराम शर्मासहित नौ जनाको टोली काठमाडौंबाट पोखरा हुँदै गण्डकी प्रदेशका विभिन्न जिल्लामा गएको हो । हेलिकप्टर हिजो बिहान ८ बजे त्यसतर्फ गएको थियो ।
साँझ ५ बजे हेलिकप्टरमा नौ जनाको टोली राजधानी फर्केको हो ।
टिप्पणीहरू