तुच्छ शैलीको भाषा प्रयोग नगर्नु : महिला आयोग
राष्ट्रिय महिला आयोगले निर्वाचनको प्रचार–प्रसारका क्रममा लैंगिक, जातीय तथा सामाजिक सांस्कृतिक रूपमा तुच्छ शैलीको भाषा प्रयोग नगर्न अनुरोध गरेको छ ।
आयोगले विज्ञप्ति जारी गर्दै स्थानीय तहमा राजनैतिक दल तथा उम्मेदवारले लैंगिक, जातीय तथा सामाजिक सांस्कृतिक रूपमा लक्षित र आँच पुर्याउने तथा अपहेलना हुने गरी तुच्छ शैलीको भाषा प्रयोग भएको देखिन आएकाले यसमा आयोगको ध्यानाकर्षण भएको जनाएको हो ।
त्यस किसिमको अभिव्यक्तिले लैङ्गिकता तथा व्यक्तिको आस्था एवम् मानवअधिकार र सामाजिक सद्भावमा आँच आउने अवस्था देखिएकाले त्यस्तो अभिव्यक्ति प्रकट नगर्न तथा सबैप्रति सम्मान जनाउने गरी आफ्ना अभिव्यक्ति राख्न राजनीतिक दल, उम्मेदवार तथा दलका कार्यकर्ता र मतदातालाई अनुरोध गरिएको छ । यस्ता विषयमा निर्वाचन आयोगलाई समेत ध्यान दिन महिला आयोगले विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको हो ।
स्थानीय तहको निर्वाचन, २०७९ मा सम्बन्धित स्थानीय निकायको लागि विभिन्न राजनैतिक दल तथा व्यक्तिले उम्मेदवारी दिने, उम्मेदवारीमाथि उजुरी तथा उजुरीमाथि छानबिन समेत भई उम्मेदवारको अन्तिम नामावलीसमेत प्रकाशन भइसकेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू