चुनाव नजिकिँदै गर्दा अधिकांश नेता, मन्त्री र भीआईपीलाई भ्याईनभ्याई
स्थानीय तह निर्वाचानको मिति नजिकिँदै जाँदा अधिकांश राजनीतिक दलका नेता, कार्यकर्ता, मन्त्री र केही भीआईपीलाई विभिन्न जिल्लामा आयोजित कार्यक्रममा सहभागी हुन भ्याईनभ्याई देखिन्छ । उनीहरुले स्थलमार्ग भन्दा हवाई उडाको प्रयोग गरेका छन् । कतिपयले एकै दिन तीन चार ठाउँको कार्यक्रम भ्याउन हेलिकप्टरको प्रयोग गरेका हुन् ।
सोही क्रममा नेपाल एयरलाइन्सको काठमाडौं–रुकुम उडानमा अर्थमन्त्री जनार्दन शर्मा हिजो बिहान साढे ६ बजे त्यता जानुभएको छ । हिजै बुद्ध एयरको काठमाडौं–भरतपुर उडानमा बिहान साढे ७ बजे महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मी चितवन जानुभएको हो ।
श्री एयरलाइन्सको काठमाडौं–भैरहवा उडानमा पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी हिजो बिहान साढे ७ बजे त्यता प्रस्थान गर्नुभयो । त्यसैगरी बुद्ध एयरको हिजो बिहानको साढे ७ बजेको उडानमा पूर्वमन्त्री पूर्णबहादुर खड्का र पूर्वमन्त्री एकनाथ ढकाल सुर्खेत जानुभएको छ ।
त्यसैगरी एमाले उपाध्यक्ष तथा नेपाली काँगे्रसकी नेतृ तथा पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला बुद्ध एयरको उडानमा हिजो बिहान साढे ८ बजे काठमाडौबाट विराटनगर जानुभएको हो । पूर्वगृहमन्त्री बुद्धिमान तामाङ र राप्रपा अध्यक्ष राजेद्र लिंगदेन हिजो बिहान साढे १० बजेको उडानमा काठमाडौंबाट सिमरा जानुभएको राप्रपा स्रोतले बताएको छ । तामाङ र लिङ्देन अपरान्ह साढे ४ बजे काठमाडौं फर्कनुभएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा हिजो नेपाली सेनाको एन ए ०६२ कासा विमान चढेर हिजो बिहान साढे १० बजे काठमाडौंबाट पोखरा जानुभएको हो । उहाँसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल काँग्रेस वरिष्ठ नेता राम्चन्द्र पौडेल सहित २७ जनाको टोली त्यता गएको हो ।
हिजै पौने १ बजे बुद्ध एयरको उडानमा काठमाडौंबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादव राजविराज जानुभयो । त्यसैगरी बुद्ध एयरको उडानमा राज्यमन्त्री उमेश श्रेष्ठ हिजो दिउँसो १ बजे काठमाडौंबाट भरतपुर प्रस्थान गर्नुभएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की चार सदस्यीय टोलीका साथ बुद्ध एअरको उडानमा हिजो दिउँसो सवा १ बजे विराटनगर जानुभयो भने पूर्व ऊर्जामन्त्री शरदसिह भण्डारी हिजो दिउँसो पौने २ बजे बुद्ध एअरको उडानमा काठमाडौंबाट जनकपुर जानुभएको छ ।
सिम्रिक हेलिकप्टर चढेर हिजो दिउँसो २ बजे एमाले अध्यक्ष केपी शर्मा ओली काठमाडौंबाट बुटवल जानुभयो । त्यहि हेलिकप्टरमा उहाँ अपरान्ह साढे ४ बजे भरतपुर आउनुभएको थियो । हेलिकप्टरमा पाँच सदस्यीय टोली थियो । उक्त टोली साँझ साढे ६ बजे राजधानी फर्केको हो ।
एमाले महासचिव शंकर पोखरेल हिजो दिउँसो २ बजे बुद्ध एअरको उडानमा नेपालगञ्जतर्फ जानुभएको थियो । उक्त उडानमा युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज पनि हुनुहुन्थ्यो ।
काँग्रेस महामन्त्री गगन थापासहित चार सदस्यीय टोली हिजो एभरेष्ट हेलिकप्टरमा काठमाडौंबाट दुई बजे रौतहट प्रस्थान गरेको बताइन्छ । त्यसपछि सोही हेलिकप्टरमा उक्त टोली बारा र महोत्तरी पनि पुगेको थियो । थापा सहितको टोली साँझ साढे ६ बजे काठमाडौं फर्केको हो ।
हिजै पूर्वमन्त्री तथा काँग्रेस नेता विमलेन्द्र निधि बुद्ध एअरको उडानमा काठमाडौंबाट साढे २ बजे जनकपुर प्रस्थान गर्नुभयो भने यति एयरलाइन्सको उडानमा भैरहवाबाट सवा ३ बजे पूर्वमन्त्री दिपक बोहोरा राजधानी आउनुभएको छ ।
बिहान सेनाको विमानमा पोखरा जानुभएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल ५ बजे विमानको नियमित उडानमा काठमाडौं फर्कनुभयो । त्यसैगरी भरतपुरबाट बुद्ध एअरको उडानमा पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डे पौने ५ बजे काठमाडौं फर्कनुभएको थियो ।
हिजै बुद्ध एयरको उडानमा सहरी विकासमन्त्री रामकुमारी झाक्री साँझ सवा ६ बजे भैरहवाबाट काठमाडौं आउनुएको विमानस्थल स्रोतले जानकारी दिएको छ ।
टिप्पणीहरू