रोल्पामा साडीको बाढी
रोल्पाको गंगादेव गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार वीरबहादुर केसी (भिउदे) माथि मतदातालाई साडी र पैसा बाँडेको आरोप लागेको छ ।
उनले पाखापानी क्षेत्रका मतदाताको घर–घरमा पुगेर महिला समूहलाई साडी र विपन्न परिवारलाई पैसा बाँडेको एमाले,नेपाली काँग्रेस र स्वतन्त्र उम्मेदवारहरुले दावी गरेका छन् ।
पूर्वसभामुख ओनसरी घर्ती र माओवादी केन्द्रको तर्फबाट अध्यक्षका उम्मेदवार बनेका केसीले खुलेआम मतदातालाई प्रभावित पार्दा पनि प्रहरी चुप लागेको उनीहरुले आरोप लगाएका हुन्।
जिनाबाङ र पाखापानीका स्थानीयले पनि उनलाई पैसा र साडी बाँडेको आरोप लगाएका छन् । पूर्वसभामुख घर्ती केसीको प्रचारप्रसारका लागि एक सातादेखि गंगादेव बसेर बुधबार साँझ माडीचौर फर्कनुभएको बताइन्छ ।
मौन अवधिमा माओवादी केन्द्रका उम्मेदवार गंगादेवले मतदाता प्रभावित पारेकोमा एमाले,काँग्रेस र स्वतन्त्र उम्मेदवारले आपत्ति जनाएका छन् । पैसा बाँड्न आएको भन्दै स्थानीय कार्यकर्ताले मालेखोलामा नाराबाजी गरेको काँग्रेसका एक नेताले बताए ।
तर माओवादी केन्द्र, रोल्पाले भने उक्त आरोप निराधार भएको बताएको छ । निवर्तमान पालिका अध्यक्ष तथा हालका उम्मेदवार आफ्नो पालिकाभित्र हिँडडुल गरेको विषयलाई विपक्षीहरुले बढाइ चढाइ गरेको माओवादीको भनाइ छ ।
टिप्पणीहरू