मोफसलका स्वतन्त्रले नपाएको मिडिया कभरेज

मोफसलका स्वतन्त्रले नपाएको मिडिया कभरेज

– विराट अनुपम

वैशाख पहिलो साता धरानको मेयर पदमा उम्मेदवारी घोषणा गरेका हर्क साम्पाङले मिडियाले स्पेश नदिएको गुनासो गरे ! खानेपानीदेखि सार्वजनिक सूचना हुँदै भ्रष्टाचारका मुद्दा जोडले उठाउने साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मुद्दामा पनि उत्तिकै खबरदारी गरेका छन् । तर, उनले भनेको साँचो हो– उनको मिडिया कभरेज कम छ । नेताहरूले गरेका गाली र दाबीहरूकै समाचार बने । साम्पाङको समाचार बनेन । बन्दा पनि दलका केटाहरूले गरेको कुटपिट र उनी घाइते हुँदाको बन्यो । उनको आक्रोशको बन्यो । जेन्युइन मुद्दाका बनेनन् । कम बने । अहिले चुनावी माहोलमा स्वतन्त्र मतदाताको ध्यान तानेर सामाजिक सञ्जालदेखि सडकमा माहोल बनाएका उनीतिरै बल्ल मिडियाले आँखा लाउन थालेका छन् । धरानबाहिर इटहरी र काठमाडौँबाट समाचार बनेपछि उनी बल्ल समाचार कोणमा एक स्वतन्त्र राजनीतिक शक्तिका रूपमा देखाइएका छन् । एकदिन त आजित भएर उनले दिउँसै मोबाइलको टर्च लाइट अन गरी धरानमा स्वतन्त्र समाचार लेख्ने पत्रकारको खोजी गर्न हिँडे । यसो गरेर धरानका धेरै क्षेत्र पुगे ।

हर्क साम्पाङ मात्रै हैन सुन्दरहरैंचाका स्वतन्त्र मेयर उम्मेदवार डाक्टर प्रकाश भट्टराईको चिन्ता पनि उही छ । उनले आफू हरेक कुरामा स्वतन्त्र मेयर हुनलायक भए पनि धेरैको नोटिसमा नपरेको गुनासो पोखे ! घरदैलोमा जनतासम्म त पुगे । तर, मिडियामा राम्रो स्पेस पाएनन् । वैशाख दोस्रो साता इटहरीमा गफिएका भट्टराईले आफूले मोफसलको महसुस भएको अनुभव उम्मेदवार भएपछि गरेको बताए । विराटनगरपछिको दोस्रो धेरै मतदाता भएको नगरपालिकामा स्वतन्त्र उम्मेदवार भएका डाक्टर भट्टराईले अमेरिकाबाट स्नातकोत्तर गरे ! न्युजिल्यान्डबाट विद्यावारिधि ! हङकङ, स्विडेनदेखि जर्मनसम्म प्राज्ञिक कामका दौरान पुगे । देशदेशावरको अनुभव लिए । यत्तिको व्यक्तित्व, युवा अनुहार र आशलाग्दा योजना भएका डाक्टरलाई मिडियाको राडारले नोटिस गरेन । यसमा उनलाई गुनासो त छैन । तर, मोफसलको उम्मेदवारी महसुसचाहिँ भएको छ ।

यी त प्रदेश १ का केही उदाहरण मात्रै हुन् । नेपालका ७५२ स्थानीय तहमा सयौं स्वतन्त्र उम्मेदवार छन् । पालिका प्रमुखदेखि उपप्रमुख हुँदै वडाध्यक्षदेखि सदस्यसम्म यस्ता उम्मेदवार छन् । उनीहरूको मिडियामा राम्रोसँग कभरेज हुन सकेको छैन । स्वतन्त्र उम्मेदवार भन्नासाथ र्यापर तथा स्ट्रक्चरल इञ्जिनियर बालेन साहको काठमाडौँ क्रेजदेखि पोखरामा अटेरी अभियानका गनेश पौडेलको नाम मूलधारमा आउँछ । उनीहरूकै नाम मिडियाले धेरै लिएका छन् । यसो गर्नुमा मूलतः तीन कारण छन् । एक, महानगरका स्वतन्त्र उम्मेदवार भएकाले धेरै मिडियाको आँखामा त्यो विषय पर्यो र चर्चा भयो । दुई, स्वतन्त्र उम्मेदवारको व्यक्तित्वको गुरुत्व र महानगरस्तरीय परिचालन टिम भएकाले त्यो धेरैमाझ पुग्यो । तीन, पत्रकारले महानगर र उपमहानगरभन्दा अन्य ससाना क्षेत्रमा प्रभावशाली स्वतन्त्र उम्मेदवारबारे लेख्नै भ्याएनन् ।

उसो त उपमहानगरपालिकाको स्वतन्त्र मेयर उम्मेदवार भएर पनि धनगढीका गोपी हमालको क्रेज धेरै छ । दिनेश एफएम नामक उक्त क्षेत्रको नामी मिडिया सञ्चालकसमेत भएकाले मिडियामा राम्रो छाएको छ । मत पनि २०७४ को चुनावमै राम्रो ल्याएर फस्र्ट रनरअप भएका थिए । नेकपा (एमाले) र माओवादी (केन्द्र) भन्दा धेरै मत उनको थियो । २७ सय मतले मात्रै चुनाव हारेका हुन् । अहिले हमाल पुनः चुनावी मैदानमा छन् । क्रेज बढ्दो छ । तर, उनलाई सुदूरपश्चिम बाहेकका मिडियाबाट हुनुपर्ने स्तरको चर्चा दिइएको छैन । मिडिया मालिककै चर्चा कम हुन्छ भने आम मान्छेको कस्तो होला ?

त्योबाहेक भरतपुरका जगन्नाथ पौडेलले नाम पनि चर्चामा छ । तर, पौडेलको भने स्वतन्त्रभन्दा पनि बागी उम्मेदवारको रूपमा चर्चा भएको हो । नेपाली कांग्रेसको झण्डा बोकेर कांग्रेसमा भोट हाल्न नपाएको झोंकमा पौडेलले भरतपुरबाट स्वतन्त्र उम्मेदवारी दिएर भुँइकटर चिह्नसहित चुनावी मैदानमा छन् ।

एकातर्फ पत्रकार पार्टीका हुन्छन् भन्ने ट्याग लागेकै छ । अर्कोतर्फ पत्रकारका संस्थाहरू नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन, प्रेस मञ्च नेपालदेखि प्रगतिशील पत्रकार संघले खुलेर दलीय खासगरी गठबन्धनको निम्ति भोट मागेका छन् । प्रेस चौतारी अध्यक्षले अन्य दलका उम्मेदवारलाई बधाई नदिन उर्दी जारी गरे ! यसरी पत्रकारका संस्था तथा नेताहरू दलका देखिने आसेपासे भएको दृष्य सतहमा छ । त्यही अवस्थामा कुनै दलमा आबद्ध नभएका स्वतन्त्र उम्मेदवारहरूको रिपोर्टिङ देशव्यापी तहमा शून्य नभए पनि न्यून भने भएको छ । यसले मिडियाप्रति स्वतन्त्र मतदाताको विश्वास घटेको छ । पत्रकारिताप्रति प्रश्न बढेको छ । यसतर्फ सम्बन्धित सबैले ध्यान दिन जरुरी छ ।

स्वतन्त्र उम्मेदवार भएर जितेका अघिल्ला स्थानीय चुनावको तथ्यांकले १८ दलका उम्मेदवार विजयी भएको देखाउँछ जसमा एमालेबाट सबैभन्दा धेरै १४०९९ जनप्रतिनिधि चयन भएका थिए भने सबैभन्दा कम नेपाल परिवार दलबाट १ जना छानिए । स्वतन्त्र उम्मेदवार भने देशभरबाट २३३ जना चुनिएका थिए । स्वतन्त्र उम्मेदवारलाई बेग्लै पार्टी मान्दा यो सातौं संख्या हो जुन नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा, लोसपा र राप्रपा भन्दा मुनि मात्रै हो । यसरी हेर्दा स्वतन्त्र उम्मेदवारको संख्या निराशाजनक देखिँदैन । तर, स्वतन्त्र उम्मेदवारको रिपोर्टिङ भने धेरै निराशाजनक देखिएको छ । यसमा सुधार हुन आवश्यक छ ।

टिप्पणीहरू