चुनाव गराएका पूर्व हाकिमलाई नै आज किन फिल्डमा जान दिइएन ?

चुनाव गराएका पूर्व हाकिमलाई नै आज किन फिल्डमा जान दिइएन ?

आज बिहान ७ बजेदेखि मुलुकका सबै स्थानीय तहमा मतदान शुरु भएको छ । निर्वाचन कसरी सम्पन्न भयो भन्नेबारे सबैलाई विश्वस्त तुल्याउन पर्यवेक्षण टोली खटाउने चलन छ । कतिपय विदेशी मुलुकका प्रतिनिधि टोलीमा हुन्छन् भने कतिपयचाहिँ स्वदेशका मात्रै खटिन्छन् ।

तीन दिनअघि पूर्वप्रमुख आयुक्त अयोधीप्रसाद यादवले पर्यवेक्षणको निम्ति पेश गरेको आवेदन आयोगले अस्वीकार गरेको खबर बाहिर आएको थियो । त्यसलगत्तै यादव स्वयंले आफूलाई आयोगले पूर्वाग्रह राखेर पर्यवेक्षणको निम्ति स्वीकृति नदिएको प्रतिक्रिया जनाउनुभएको थियो ।

तर आयोग स्रोतले भने वास्तविकता यादवको प्रतिक्रियाभन्दा ठ्याक्कै एक सय ८० डिग्री उल्टो रहेको बताएको छ । औपचारिक पर्यवेक्षणको निम्ति टोलीले माग्ने पर्यवेक्षण अनुमतिबाहेक आयोगले मुलुकका विशिष्ट व्यक्तित्वलाई आमन्त्रण गरेर मतदान गतिविधिको अध्ययन र अवलोकन गर्न विशेष पासको व्यवस्था गर्दै आएको छ ।

विगतमा कसरी पास दिइयो भन्नेबारे कुरै नगरौं अहिले एउटा मापदण्ड बनाएर इच्छुक विशिष्ट व्यक्तित्वलाई त्यस्तो विशेष पास उपलब्ध गराउन भन्दै आयोगले आयुक्त सगुनसमशेर राणालाई त्यो कार्यको जिम्मा दिएको रहेछ । मापदण्डमा आयोगका पूर्वप्रमुख आयुक्तहरु, पूर्वआयुक्तहरु, संवैधानिक अंगका पूर्वप्रमुखहरु, पूर्वगभर्नरहरु,विशिष्ट श्रेणीका पूर्व पदाधिकारी तथा कर्मचारीहरु, उत्कृष्ट व्यवसायीहरु, समाजसेवीलाई पास दिन सकिने भनियो । तर अन्तिममा त्यस्ता व्यक्तित्व कुनै पनि राजनीतिक दलसँग आबद्धता नभएको हुनुपर्ने अनिवार्य शर्त पनि थपियो ।

त्यसो त पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ र कपिल श्रेष्ठहरु आबद्ध संस्था नियोकले पर्यवेक्षण पासको निम्ति पठाएको सिफारिस पत्रमा पनि यादवको नाम थिएन । सम्भवतः नियोकले पनि यादव राजनीतिक व्यक्ति भनेर सिफारिस नगरेको आयोगका अधिकारीहरुको अनुमान छ । सर्वोच्च अदालतका भूतपूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलगायतका पूर्वप्रधानन्यायाधीशहरु आबद्ध रहनुभएको कृष्णमान श्रेष्ठ नेतृत्वको संस्थाले पनि उहाँको नाम सिफारिस नगरेको बताइन्छ । यादव माओवादी केन्द्रको बिभागीय जिम्मेवारीमा आबद्ध रहनुभएको सबैलाई जगजाहेर नै छ ।

सम्बन्धित संस्थाहरुले यादवको नाम सिफारिस नगरेपछि उहाँको नाममा पास उपलब्ध नभएको वास्तविकता आयोग स्रोतले दिएको छ । ती संस्थाहरुले आफूलाई विवादमा आउनबाट जोगाउन यादवको नाम सिफारिस नगरेको आयोगका पदाधिकारीहरुको बुझाई छ ।

आयोगका अधिकारीहरुवीच मंगलबार यादवलाई कहिँ कतैबाट नियममा टेकेर पास उपलब्ध गराउनेबारे छलफल भइरहँदा उहाँले सञ्चारमाध्यममा आयोगलाई देखाइदिने आशयको प्रतिक्रिया र विज्ञप्ति बाँडेपछि पदाधिकारीहरु रिसले चुर भएका हुन् । त्यहि कारण आयोगले यादवलाई जसरी पनि पास उपलब्ध गराउन खोजेको प्रयासमा एकाएक पूर्णविराम लागेको बताइन्छ ।

टिप्पणीहरू