आज मतदान सकियो, हिजो साँझसम्म कसले कहाँ के गरे ?
स्थानीय तह निर्वाचनको मतदान आज अपरान्ह ५ बजे सकिएको छ । एकाध मतदान केन्द्रमा स्थगित भएको छ भने अधिकांश ठाउँमा मतदान कार्य सम्पन्न भएको छ ।
उदयपुरको एउटा मतदान केन्द्रमा मतदान सकिएपछि सन्की प्रहरी इन्सपेक्टरले गोली चलाउँदा स्वतन्त्र उम्मेदवारका छोरा मारिएका छन् । एक जना बालक घाइते छन् ।
तर आज बिहानसम्म निर्वाचन आयोगले मौन अवधि भने पनि भुसको आगोझैं कतिपय स्थानमा उम्मेदवार, तिनका प्रतिनिधि र राजनीतिक दलका नेताहरुमाथि विभिन्न आरोप लागेको थियो । सोही क्रममा पर्साको वीरगञ्ज महानगरपालिकाका नेकपा (एमाले) का उम्मेदवार विजय सरागवीलाई निर्वाचन आचारसंहिता उल्लघंन हुने गरी क्रियाकलाप गरेको विषयमा हिजो २४ घण्टे स्पष्टीकरण सोधिएको थियो ।
उता एमालेका चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले विज्ञप्ति जारी गर्दै चुनावको अघिल्लो दिन भरतपुर महानगरपालिकामा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदाता प्रभावित पार्न घुमफिर गरिरहेकाले आचारसंहिता उल्लंघन भएको उजुर गरेका थिए । उनले नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका भरतपुर र माडी नगरपालिकाका उम्मेदवारहरुको उम्मेदवारी रद्द गर्न माग गरेका हुन् ।
त्यसैगरी तनहुँको बन्दीपुर गाउँपालिका ५ मा रहेको भुजेल बस्तीमा मौन अवधिको समयमा बाँड्न लागिएको ५० बोरा चामल माओओवादीको युवा संगठन वाईसीएलले नियन्त्रणमा लिएको छ । तर चामल बाँड्न लागेको पार्टी वा समूहबारे केही बताइएको छैन ।
रुकुम पश्चिममा चौरजहारी नगरपालिका–१० मा नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्षका उम्मेदवार गणेशमान डाँगी र माओवादीका उमेदवार वीरेन्द्र रोकायाका समर्थकबीच मतदातालाई आफूतिर तान्न पैसा बाँडेको विषयमा विवाद हुँदा अस्ति राति झडप भएको थियो ।
उता मुगुको सोरु गाउँपालिका–३ मा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका समर्थकबीच दोहोरो झडप भएको थियो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले १० राउन्ड हवाई फायर गरेको हो । त्यस्तै काँग्रेस समर्थकहरूले माओवादीको तर्फबाट वडाध्यक्ष उम्मेदवार बनेकी मनकला रोकायाको घरमा तोडफोड र आगजनीको प्रयास गरेका थिए ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन हुने गरी मौन अवधिमार राजनीतिक क्रियाकलाप गरेको भन्दै नेकपा (माओवादी केन्द्र) का वाग्मती प्रदेश कमिटी सदस्य तथा अध्यक्ष पुष्पकमल दाहालकी अर्की छोरी गंगा दाहाललाई हिजो २४ घण्टे स्पष्टीकरण सोधेको हो । साथै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि सोही आरोपमा २४ घण्टे स्पष्टीकरण सोधिएको आयोगले जनाएको थियो ।
नेकपा माओवादी केन्द्रका अध्यक्षले माडीको होटल प्याराडाइजमा स्थानीय मतदाताहरुसँग हिजो बिहान भेटघाट र छलफल गर्दै भरतपुरका मेयर रेनु दाहाललाई जिताउन आग्रह गरेको विषय आचारसंहिताविपरित रहेको उजुरीकर्ताहरुको दाबी छ ।
कैलालीको गोदावरी–६ मा एमाले र काँग्रेस कार्यकर्ताबीच बुधबार राति झडप हुँदा एमालेका वडा अध्यक्ष उम्मेदवार जग्गुराम चौधरीका भाइ बिन्तीराम चौधरी घाइते भएका हुन् ।
हिजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, श्रम तथा रोजागर मन्त्री कृष्णकुमार श्रेष्ठ र राज्यमन्त्री उमेश श्रेष्ठले निर्वाचन आचारसंहिता–०७८ को उल्लंघन गरेर मतदाता प्रभावित पारेको भन्दै उजुर हालिएको थियो । उनीहरुले राजनीतिक सक्रियताका साथ क्रियाकलाप गरेको आरोपमा भरतपुर महानगरपालिका–१२ का अश्विन घिमिरेले मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा लिखित उजुरी दिएका हुन् ।
गृहमन्त्री बालकृष्ण खाँण र काँग्रेस उम्मेदवार तथा खाँणका भाइ रामकृष्णले रुपन्देहीको तिलोत्तमामा बसेर मौन अवधिमा आचारसंहिताको उल्लंघन गरेको, मतदाता प्रभावित पारेको भन्दै निर्वाचन आयोगमा हिजो निवेदन परेको हो ।
हिजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मौन अवधिमा फेसबुक पेजमार्फत् मतदातालाई सम्बोधन गर्दै ‘मौन अवधि चलिरहेको समयमा मतदाता भड्काउन अनेक चलखेल हुन सक्छ, त्यस्ता कार्य गर्ने सबैलाई प्रतिवाद गरेर तिनको पहिचान गर्न र सम्बन्धित निकायमा खबर गर्न’ अनुरोध गर्नुभएको थियो ।
नेपाली काँग्रेसले हिजै भरतपुर नगरपालिकामा गबठन्धनविरुद्ध क्रियाकलाप गरेको, बागी उम्मेदवारलाई सघाएकोमा पूर्वसांसद भीमबहादुर श्रेष्ठलगायत पाँच जनालाई कारवाही गरेको हो ।
उता सुर्खेतको गुर्भाकोट नगरपालिका–११ का एमालेका वडाध्यक्ष उम्मेदवार राजन बिसीले मौन अवधिमा मतदातालाई बुधबार राति पैसा बाँड्दै गरेको अवस्थामा एक लाख एक हजार रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको थियो ।
निर्वाचन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई पनि निर्वाचन आचारसंहिता उल्लंघन गरेको विषयमा २४ घण्टे स्पष्टीकरण हिजो नै सोधेको थियो ।
माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्य चुडामणि खड्काले पनि गोरखा सदरमुकामस्थित होटल मिराकलमा अखिल नेपाल शिक्षक संगठन गोरखाको टोलीसँग निर्वाचन आचारसंहिता विपरीत छलफल गरेको उजुर परेको आयोग स्रोतले बताएको छ ।
टिप्पणीहरू