२१३ भोट पाएपछि बालेनका समर्थकको नारावाजी

२१३ भोट पाएपछि बालेनका समर्थकको नारावाजी

काठमाडौँ महानगरको प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन शाह समर्थकले मत गणनास्थल बाहिर भीडभाड र नारावाजी गरेका छन् । मत गणनाको प्रारम्भिक परिणाम आफ्नो पक्षमा देखिएपछि हौसिएका उनका समर्थकहरुले नारा लगाएका हुन् ।

आज बिहानदेखि शुरु भएको मतगणनामा केही सय मत गन्दा मेयर पदका स्वतन्त्र उम्मेदवार शाहले अग्रता बनाएका छन् । उनले अग्रता लिएपछि समर्थकले राष्ट्रिय सभागृहअगाडि भेला भएर नारावाजी गरिरहेका छन् ।

पछिल्लो मतगणनाअनुसार बालेन २१३ मतका साथ अग्रस्थानमा छन् । एमालेका केशव स्थापित १५९ भोट ल्याएर दोस्रो स्थानमा छन् भने कांग्रेसकी सिर्जना सिंह १४८ मतका साथ तेस्रोमा छिन् ।

अहिले महानगरको वडा नम्बर १ र वडा नम्बर ३२ को गणना भइरहेको छ । ती दुवै बालेनको प्रभाव क्षेत्रकै रुपमा चर्चा गरिएका वडा हुन् ।

काठमाडौँको मेयर जित्नेले कम्तिमा पनि ६० देखि ७० हजार मत ल्याउनुपर्ने आकलन गरिएको छ । अहिले कोर सिटी बाहिरको गणना भैरहेको र निकै थोरै मात्र मत गनिएकाले यहि अग्रता कायम राखेर जित निकाल्न बालेनलाई सहज छैन । असन, इन्द्रचोकजस्ता पुरानो नेवार बस्तीको मत स्थापित र सिंहकै पक्षमा जाने अनुमान गरिएको छ । अघिल्ला चुनावमा पनि नेवार बस्तिकै भोट निर्णायक हुने गरेको थियो ।

टिप्पणीहरू