भारतीय प्रधानमन्त्रीको भ्रमण तालिका,५ घण्टामा ५ कार्यक्रम
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पर्सि सोमबार ५ घण्टाको निम्ति गर्न लाग्नुभएको लुम्बिनी भ्रमणको तालिकालाई दुवै देशका अधिकारीहरुले अन्तिम रुप दिएका छन् । अब प्रधानमन्त्री मोदी बिहान पौने ११ बजे लुम्बिनी आइपुग्नुहुने छ । यसअघि १२ बजेदेखि १ बजेको समयमा आइपुग्ने खबर थियो ।
सोमबार पौने ११ बजे उहाँ अन्तर्राष्ट्रिय बौदिष्ट सम्मेलन तथा ध्यान केन्द्रको हेलिप्याडमा ओर्लनुहुने छ ।
त्यसपछि उहाँ मायादेवी मन्दिर परिसरमा पूजापाठको निम्ति ११ बजे पुग्ने कार्यक्रम छ । त्यहाँ उहाँले आधा घण्टा बिताउनुहुने छ ।
मायादेवी मन्दिरमा पूजापाठ गरेपछि उहाँ साढे ११ बजे भारतले निर्माण गरेको बौद्ध गुम्बामा प्रवेश गर्ने कार्यक्रम छ । त्यहाँ प्रधानमन्त्री मोदीले झण्डै ४० मीनेट बिताउनुहुने बताइएको छ ।
सवा १२ बजेतिर उहाँ र भारतीय टोली नजिकैको होटल पवन प्यालेसतर्फ प्रस्थान गर्नेछ । पवन प्यालेसमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षीको सम्मानमा शाकाहारी दिवाभोज आयोजना गर्नुहुने छ ।
त्यसमा झण्डै एक घण्टा बिताएपछि भारतीय प्रधानमन्त्रीले केही बेर सोही होटलमा आराम गर्नुहुने छ । त्यसपछि उहाँ साढे ३ बजे पुनः अन्तर्राष्ट्रिय बौध्दिष्ट सम्मेलन तथा ध्यान केन्द्रको सभाहलमा आयोजना हुने अन्तिम कार्यक्रममा सरिक भएर हेलिकप्टरबाट स्वदेश फर्कनुहुने छ ।
टिप्पणीहरू