मत गन्ने कर्मचारीको खल्तिमा स्वस्तिक चिन्ह भेटिएपछि इलाममा ३ राउण्ड हवाई फायर
इलामको देउमाई नगरपालिकामा मतगणनामा बसेका एक जना कर्मचारीको खल्तिमा स्वस्तिक चिन्ह भेटिएपछि गठबन्धनले पुनः निर्वाचनको माग गर्दै प्रदर्शन गरेको छ । प्रदर्शनको क्रममा कार्यालय तोडफोड भएपछि प्रहरीले तीन राउण्ड गोली चलाएको हो ।
हिजो अपरान्ह भएको उक्त घटनापछि जिल्लाबाट प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गाना र प्रहरी प्रमुखहरुको टोली त्यहाँ पुगेको हो । छलफलमा गणनामा बसेका सबै कर्मचारी फेरेर मतगणना शुरु गर्ने सहमति भएको हो ।
उता फाकफोकथुममा भने वडा नम्बर १ को मतपरिणाम आएसँगै नेकपा एमालेले आफ्नो प्रतिनिधि कम राखेको भन्दै विरोध जनाएको थियो । त्यसपछि लगातार भएको नाराबाजीपछि मतगणना स्थगित भएको हो । वडा नम्बर १ मा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका कर्णबहादुर लिम्बूको प्यानलले जितेको छ ।
हालसम्मको परिणामअनुसार माई नगरपालिका र देउमाई नगरपालिका बाहेक सबै स्थानीय तहमा गडबन्धनका उम्मेदवार अगाडि छन् । ८१ वडा रहेको इलाममा हालसम्म एमालेले तीन वटा वडा, नेपाली काँग्रेसले दुई वटा वडा र जनमुक्ति पार्टीले एउटा वडा जितेको छ । माईजोगमाई गाउँपालिका १ मा भने गठबन्धन र नेकपा एमालेको अध्यक्षको मत बराबरी भएपछि गोलाप्रथाबाट विजयी घोषणा गराउने प्रक्रिया अघि बढाइएको छ ।
इलामको १० वटा स्थानीय तहको मतगणना गए रातीदेखि शुरु भएपनि मतपरिणाम भने आधा दर्जन वडाको मात्र प्राप्त भएको छ ।
टिप्पणीहरू