मतपरिणामले ठूला दलहरुलाई दिएको सन्देश

मतपरिणामले ठूला दलहरुलाई दिएको सन्देश

देशैभरिबाट स्थानीय निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । ठूला दलहरु नेपाली काँग्रेस,माओवादी केन्द्र, एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा गठबन्धनसहित निर्वाचनमा सहभागी भएका थिए । उता एमाले भने एकल बहुमत ल्याउने उद्घोषका साथ एक्लै निर्वाचनमा होमिएको थियो । तथापि ऊ टुटे फुटेका दलहरु राप्रपा नेपाल,लोसपा र ठाउँ हेरी काङ्ग्रेसका बागी (तनहुँ,डडेल्धुरा) लगायतसँग गठबन्धन गर्न पुग्यो ।

सरकार सञ्चालनमा रहेका गठबन्धन दलहरुले सोचेको भन्दा राम्रो नतिजा आएको ठानिरहेका छन् । एमालेले स्थानीय निर्वाचनमा जताततै धक्का खाएको छ । आफ्नै प्रभावशाली नेताहरुको गृहनगर–पालिकामा पनि एमालेले साख जोगाउन सकेन । अघिलो स्थानीय निर्वाचनमा दुई ठूला महानगर जितेको एमाले अहिले सबैतिर गठबन्धन दलहरुसँग पछि दौडिरहेको छ । पहिला जितेका धेरै स्थानीय तह गुमाइरहेको छ।

अध्यक्ष केपी ओलीले भोट हालेको बालकोटलगायत एमालेका चर्चित नेता गोकुल बाँस्कोटाले काभ्रेपलाञ्चोक जिल्लामा आफ्नै वडा पनि जिताउन सकेनन् । अर्का नेता पार्टी सचिव योगेश भट्टराईको गृहनगरमा पनि एमालेले विगतको हैसियत जोगाउन सकेन । हिजो पार्टीभित्र दुईलाईन संघर्ष चलिरहेको बेला अध्यक्ष केपी ओलीको सबैभन्दा धेरै आलोचना गर्ने भट्टराई अन्तत: पार्टी विभाजनको अवस्थामा पुग्दा संस्थापनतिरै बसेका थिए । आज उनकै जिल्ला ताप्लेजुङ्गमा एमालेले हार व्यहोर्नुपरेको छ ।

त्यसैगरी दाङ्गमा एमाले महासचिव शंकर पोखरेलले पनि आफ्नो ठाउँमा एमालेलाई जिताउन सकेनन् ।

यता गठबन्धन गरेर माओवादी केन्द्रलाई भने तुलनात्मक रुपमा फलिफाप भएको छ । कतिपय स्थानीय तहमा आफ्नै बलबुताले जितेको छ भने केही स्थानमा गठबन्धनको राम्रो प्रभावले अहिलेसम्म तेस्रो स्थानमा रहेको पाइएको छ ।

सरकार सञ्चालनको ठूलो दल नेपाली काँग्रेसलाई भने स्थानीय निर्वाचनमा ठूलो दल बन्नबाट कसैले रोक्न नसक्ने जस्तै देखिन्छ । देशैभरिबाट उसले प्राप्त गरेको नतिजालाई हेर्ने हो भने काँग्रेस ठूलो दल बन्ने पक्का छ ।

गठबन्धनकै अर्को घटक नेकपा एकीकृत समाजवादीलाई पनि केही राहत मिलेको देखिन्छ । उसले कतिपय स्थानमा गठबन्धन नै नगरी एकल उम्मेदवारीका साथ निर्वाचनमा सहभागी भएको थियो भने अधिकाँश ठाउँमा उसका उम्मेदवार नै थिएनन् । यो चुनावले जतिसुकै बलियो शक्तिलाई पनि कमजोरहरुले घेरेर कमजोर बनाउन सक्ने र कसैले पनि परिस्थितिलाई कम आँकेर अरुलाई हेप्न नहुने सन्देश दिएको देखिन्छ ।

टिप्पणीहरू