राजदूतहरुको सँसदीय सुनुवाइ शुरु
स्थानीय निर्वाचनका कारण रोकिएको प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाई आजदेखि शुरु भएको छ । सुनुवाई थालिएकै दिन आज दुई देशका लागि प्रस्तावित राजदूतहरुको नाम सुनुवाई समितिले अनुमोदनसमेत गरेको छ ।
समितिका सभापति लक्ष्मणलाल कर्णको सभापतित्वमा बसेको बैठकले चीन र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको हो । सरकारले चीनका लागि विष्णुपुकार श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि दानबहादुर तामाङको नाम प्रस्ताव गरेको थियो ।
गत चैत २४ गतेको मन्त्रिपरिषद बैठकले विभिन्न देशमा रिक्त २० राजदूत नियुक्तिको निर्णय गरेको थियो । तर, स्थानीय चुनावको चटारोले उनीहरुको संसदीय सुनुवाई हुन सकेको थिएन ।
अब क्रमश: सुनुवाई थालिने बताइएको छ । एकदिनमा चारदेखि पाँच जनाको सुनुवाई हुने भनिए पनि आज दुई जनाको मात्रै सुनुवाई सकिएको हो । राजनीतिक दलको कोटाबाट प्रस्तावित १२ जनाको बढीमा चार दिनमा र परराष्ट्र सेवाका ८ जनाको एकैदिन सुनुवाई सकिने सम्भावना रहेको बताइन्छ ।
टिप्पणीहरू