रुकुम पश्चिमका तीन गाउँपालिकाको खबर

रुकुम पश्चिमका तीन गाउँपालिकाको खबर

छ वटा स्थानीय तह रहेको रुकुम पश्चिममा तीन गाउँपालिकाको परिणाम आइसकेको छ । सानीभेरी, बाँफिकोट र त्रिवेणी गाउँपालिकाको मतपरिणाम सार्वजनिक भएको हो । निर्वाचन अधिकृतको कार्यालय सानीभेरीका निर्वाचन अधिकृत कमानसिंह थापाका अनुसार सानीभेरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा माओवादी केन्द्रले विजय हासिल गरेको छ ।

अध्यक्षमा बिर्खबहादुर विष्ट र उपाध्यक्षमा कमला रोका पुन विजयी हुनुभएको हो । अध्यक्ष विष्टले छ हजार १९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार गोरखप्रसाद चन्दले चार हजार ३२० मत प्राप्त गरेका छन् । विष्ट र चन्दको मतान्तर एक हजार ६९९ रहेको छ । विष्ट यसअघि सानीभेरी गाउँपालिका ३ को वडा अध्यक्ष थिए ।

उपाध्यक्षमा निर्वाचित कमला रोकाले पाँच हजार ९५८ मत प्राप्त गरेका छन् । रोकाका प्रतिद्वन्द्वी नेकपा एमालेका प्रकाश खड्काले तीन हजार ४४२ मत प्राप्त गरे । उपाध्यक्ष पदमा दुई हजार ५३८ मतको अन्तर छ । उपाध्यक्ष पदमा निर्वाचित रोका यसअघि सानीभेरी गाउँकार्यपालिकाको सदस्य थिए ।

सानीभेरी गाउँपालिकाका ११ वटा वडामध्ये ३ र ४ नम्बरमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भए । बाँकी नौ वटा वडामा माओवादी केन्द्रका उम्मेदवारहरु निर्वाचित भएका छन् । सानीभेरी गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेको चुनावी गठबन्धन थियो ।

बाँफिकोटमा काँग्रेस विजयी

जिल्लाको बाँफिकोट गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेस उम्मेदवार जनककुमार बाँठा विजयी भएका छन् । निर्वाचन अधिकृत कृतबहादुर बोहराका अनुसार उनले चार हजार ४५५ मत ल्याएर जित हासिल गरेका हुन् । बाँठाका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार चन्द्रबहादुर केसीले चार हजार ४२४ मत प्राप्त गरे । बाँठाले केसीलाई ३१ मतान्तरले पराजित गरेका हुन् ।

त्यसैगरी गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी तारा बुढा केसी विजयी भएकी छन् । उनी चार हजार ५६० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी उम्मेदवार नन्दाकुमारी नाथले चार हजार १६० मत ल्याइन् । उपााध्यक्ष पदमा ४०० मतान्तर रहेको छ ।

बाँफिकोटका १० वडामध्ये आठ वटामा माओवादी केन्द्र र दुई वटा वडामा नेपाली काँग्रेस र एमाले गठबन्धन विजयी भएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा यस गाउँपालिकाका सबै वडा र पालिकामा माओवादीले विजय प्राप्त गरेको थियो ।

त्रिवेणीमा माओवादी विजयी

यसैगरी त्रिवेणी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रले विजय हासिल गरेको छ । आज दिउँसो मतगणना सम्पन्न हुँदा अध्यक्षमा माओवादी केन्द्रका गणेशकुमार केसी र उपाध्यक्षमा राजकुमारी रेउले विजयी भएको निर्वाचन अधिकृतको कार्यालय त्रिवेणीले जनाएको छ ।अध्यक्षमा केसीले पाँच हजार १२९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार अमरसिं खड्काले चार हजार २९३ मत प्राप्त गरेका छन् । एमालेका चोपलाल खड्काले १५८, नेकपा एकीकृत समाजवादीका धनराज खड्काले ५५ र राप्रपाका डिल्लीबहादुर खड्काले पाँच मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

उपाध्यक्षमा निर्वाचित रेउलेले पाँच हजार १४३ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी सृष्टि बाँठा मगरले चार हजार ३१३ मत प्राप्त गरेकी छन् । एमालेकी धनकला विष्टले १५६ मत प्राप्त गरेका हुन् ।  १० वडा रहेको त्रिवेणी गाउँपालिकामा पाँच वटा वडामा माओवादी, चार वटामा काँग्रेस र एउटा वडामा स्वतन्त्रका उम्मेदवार विजयी हुनुभएको छ ।

टिप्पणीहरू