सिके राउतले पनि खाता खोले

सिके राउतले पनि खाता खोले

मधेसलाई नेपालबाट अलग्याउने एजेण्डासहित हिंसात्मक आन्दोलनबाट फर्किएर चुनावमा होमिएको सिके राउत नेतृत्वको जनमत पार्टीले एउटा स्थानीय तहमा जीत निकालेको छ । तराई–मधेसका अधिकांश स्थानीय तहमा आफ्ना उम्मेदवार उठाएको जनमतले सप्तरीको कंकालिनी नगरपालिकाको मेयर हात पारेको हो ।

नगरप्रमुखमा जनमतका वीरेन्द्र माझी छ हजार ४०७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी जनता सामाजवादी पार्टीका शैलेश साहले छ हजार २४६ मत ल्याए । साह यसअघिको निर्वाचनमा राजपाबाट मेयर पदमा निर्वाचित भएका थिए ।

उपमेयरमा भने जसपाकी सरिता यादव पुनः दोहोरिएकी छिन् । उनले छ हजार ५०२ मतसहित जनमत पार्टीका उम्मेदवारलाई पराजित गरिन् ।

त्यस्तै, नगरपालिकाको वडा नम्बर १ मा जनमतका सुरेन्द्र मण्डल, २ मा जसपाका सन्तोषकुमार यादव, ३ मा जसपाकै विजयकुमार यादव, ४ मा जनमतका मौलीकुमार मण्डल, ५ मा माओवादी केन्द्रका वुद्धिमान श्रेष्ठ, ९ मा जसपाकै हरिश्चन्द्र वर्मा, १० मा जसपाका रामलखन मण्डल, ११ मा माओवादी केन्द्रका साकीर खा, १२ मा जसपाका श्रीचन्द्र मुखिया, १३ मा जसपाकै कुशेश्वर यादव र १४ मा जसपाका कृष्णकुमार यादव विजयी भएका छन् ।

टिप्पणीहरू