एमालेले आश गरेको पालिकामा मतगणना थालियो

एमालेले आश गरेको पालिकामा मतगणना थालियो

रुपन्देहीको तिलोत्तमामा दुई दिनदेखि स्थगित मतगणना पुनः शुरु भएको छ । गणकहरूले एमालेको पक्षमा मत बढाएर अभिलेख राखेको भन्ने अन्य उम्मेदवारका प्रतिनिधिहरुले आरोप लगाएपछि उत्पन्न विवादका कारण अस्ति बिहान ३ बजेदेखि मतगणना रोकिएको थियो ।

एमाले बाहेकका छ दलले वडा नम्बर २ र १६ को पुनः मतगणना गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । निर्वाचन आयोगले वडा नम्बर २ र १६ को मतगणना सुरुबाटै गर्न निर्देशन दिएपछि मतगणना थालिएको हो ।

सहायक निर्वाचन अधिकृत इन्द्र सापकोटाका अनुसार तिलोत्तमामा नौ हजार ९४२ मत गनेर सकिँदा मेयरमा नेपाली काँग्रेसका रामकृष्ण खाँणले तीन हजार ८२८ मतान्तरले अग्रता लिएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मोहन चापागाईंले तीन हजार ६२१ मत प्राप्त गरेका छन् ।

उपमेयरमा भने एमालेकी जागेश्वरीदेवि चौधरीले तीन हजार ४४८ मतसहित अग्रता लिएकी छन् । माओवादी केन्द्रका हेमन्त पाण्डेले एक हजार ७२२ मत प्राप्त गरेका छन् ।

मेयरका उम्मेदवार खाँण गृहमन्त्री बालकृष्ण खाँणका साख्यै भाइ हुन् ।

टिप्पणीहरू