हलचोकबाट फाइल झिकाउन सर्वोच्चको आदेश
सशस्त्र प्रहरी बल नेपालले प्रहरी निरीक्षकका लागि लिएको गुणमापक परीक्षामा विभागीय कर्मचारीलाई नै असफल बनाइएको भन्दै सोविरुद्ध परेको रिटमा सर्वाेच्चले फाइल झिकाउने आदेश दिएको छ ।
आन्तरिक गुणमापक परीक्षामा विभागीय कर्मचारीलाई असफल बनाइएको तर शारीरिक रुपमा अनुपयुक्त व्यक्तिलाई उत्र्तीण गराइएको भन्दै विभागीय कर्मचारीहरुले गत चैत्र २० गते रिट निवेदन दायर गरेका थिए । अदालतमा रिट दायर गर्नेहरुमा सशस्त्रका अभिमन्यु पौडेललगायत हुन् ।
उनीहरुले अनिशा पाण्डेको वारेसमा दायर गरेको रिटमा आज सर्वाेच्चका न्यायधीशद्धय दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त इजलाशले फाइल झिकाउने आदेश दिएको हो ।
लोकसेवा आयोगले लिएको लिखित परीक्षामा पास भएकालाई सशस्त्र प्रहरीको विशेषज्ञ भनिएको टोलीले अपमानजन ढंगले अनुत्तीर्ण गराएको भन्दै उनीहरुले रिट दायर गरेका थिए । सशस्त्रले गत वर्ष ७५ जना प्रहरी निरीक्षकका लागि दरखास्त खुलाएकोमा ६१ जना मात्र लिखित परीक्षामा उतीर्ण भएका थिए । तर सशस्त्र प्रहरीकै गुणमापक परीक्षामा भने ४९ जना मात्रै उत्तीर्ण भएका थिए ।
१२ जनालाई सो परीक्षामा असफल बनाइएपछि विभागीय कर्मचारीले लोकसेवा आयोग, अख्तियार दुरूपयोग अनुसन्धान आयोग गुहारेका थिए । शारीरिक रूपमा फिट नभएका व्यक्तिसमेत उत्तीर्ण गराउँदा विभागीय कर्मचारीलाई अनुत्तीर्ण गराइएको भन्दै उनीहरुले सर्वाेच्चमा रिट दायर गरेका हुन् । सोही रिटमा सर्वाेच्चको आजको इजलाशले निर्णयको फाइल झिकाउने आदेश दिएको हो ।
टिप्पणीहरू