विदेश जाने भिआइपीको बाढी
मुलुकमा विदेशी मुद्राको सञ्चिती निरन्तर ओरालो लाग्दो, चिन्ताजनक अवस्थामा छ र हामी संकटको डिलमा छौं । यस्तो स्थितिमा मुलुकको ताला– चाबी लिएर बसेकाहरू किन गम्भीर नबनेका होलान् ? फेरि यस्तो अवसर पाइने/नपाइने टुंगो नभएरै हो त मन्त्रीदेखि सचिव र पदाधिकारीहरूको लावालस्कर विदेश उड्ने, मनपरी खर्च गरी विदेशी मुद्राको सञ्चिती उडाउने सिलसिला जारी रहेको ?
आइतबार अपराह्नमात्र स्वास्थ्यमन्त्री विरोध खतिवडासहित मन्त्रालयका उच्च अधिकारीको एउटा टोली जेनेभातिर उड्यो । २२ देखि २८ तारिखसम्म विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को ७५ औं साधारण सभामा भाग लिन उहाँसहित सचिव डा. रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंह उता उड्दा टोलीमा मन्त्रीका निजी सचिव मधु मिजार छुटेनन् ।
त्यो सभाका लागि मधुहरू असम्बन्धित व्यक्ति हुन् । यस्तै नीति योजना महाशाखा प्रमुख प्रकाश अधिकारीलाई सँगै लगियो भने गुणस्तर महाशाखा प्रमुख डा. मदन उपाध्याय, नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, मन्त्रीको सचिवालयका सुरज थापा, मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्रासहित ११ जनाको टोली त्यसैमा मिसियो । जबकि क्याबिनेटले त्यता उड्न चार जनालाई मात्र स्वीकृति दिएको छ ।
खतिवडा स्वदेश फर्किएलगत्तै अर्का मन्त्री विदेश उड्ने कार्यतालिका बनिसकेको छ । परराष्ट्रमन्त्री नारायण खड्का जुन १ अर्थात् १८ जेठमा स्वीडेनको स्टकहोम पुग्नुहुनेछ । त्यहाँ आयोजित वातावरणसम्बन्धी संस्मरणात्मक सम्मेलनमा भाग लिन दर्जन हाराहारी सहभागी बोकेर त्यता जान लाग्नुभएको हो । ६ गते बसेको क्याबिनेट बैठकले खड्काको टोलीलाई उ्रक्त सम्मेलनमा भाग लिन स्वीकृति दिइसकेको छ ।
अस्तिकै क्याबिनेटले जेठ ९ देखि १३ सम्म थाइल्याण्डमा युनेस्क्यापको ७८ औं बैठकमा सहभागी हुन राष्ट्रिय योजना आयोगका सदस्य डा. दिलबहादुर गुरुङ नेतृत्वको टोलीलाई स्वीकृति दिएको छ । यस अलावा जेठ १८ गते नर्वे र १९ गते फिनल्याण्डसँग हुने द्विपक्षीय परामर्श संयन्त्रको बैठकमा भाग लिन परराष्ट्र सचिव भरतराज पौडेलको टोली त्यता उड्ने पक्कापक्की भइसकेको छ ।
यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडु विश्व व्यापार संगठनको मुख्यालय जेनेभामा हुने सम्मेलनमा भाग लिन जेठ अन्तिम साता स्वीट्जरल्यान्ड जाँदै हुनुहुन्छ । श्रममन्त्री कृष्णकुमार श्रेष्ठ ३० गते अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) गभर्निङ बडीको बैठकमा भाग लिन जेनेभा जाने टुंगो लागेको छ ।
कथं बजेटलगत्तै क्याबिनेट हेरफेर भएन भने उहाँ जेनेभा उड्नुहुनेछ यो महिनाको अन्त्यमा । स्वास्थ्यमन्त्री विरोध खतिवडा ‘युएन ग्लोबल रोड टु सेफ्टी’सम्बन्धी उच्चस्तरीय बैठकमा भाग लिन १६ र १७ असारमा संयुक्त राज्य अमेरिकाको न्युयोर्क जाने कार्यक्रम तय भइसकेको छ । राष्ट्र बैंकको पछिल्लो चैत मसान्तसम्मको तथ्यांकअनुसार हामीसँग विदेशी मुद्राको सञ्चिती ११६७ अर्ब मात्र छ ।
टिप्पणीहरू