बुटवलमा सहभोज गरेर गणतन्त्र दिवस मनाइयो
-ऋषि भट्टराई
बुटवल उपमहानगरपालिका क्षेत्रका अस्तव्यस्त सडकको निर्माणमा तीब्रता आएको छ । स्थानीय तहको निर्वाचनमा नगर प्रमुखमा काँग्रेसका खेलराज पाण्डे निर्वाचित भएपछि सडक सुधार्न थालिएको काँग्रेसजनले बताएका छन् ।
लामो समयदेखि अलपत्र र जीर्ण बनेको बुटवलको मुख्य सडक राजमार्ग चौराहादेखि चिडियाखोला गोलपार्कसम्म खण्डको काम शुरु भएको हो । अहिले उक्त सडक मर्मत तथा कालोपत्रे गर्न लागिएको हो ।
पाण्डेले कार्यभार सम्हालेको दोस्रो दिन सडक कार्यालय र सरोकारवाला निकायबीच डाक्नुभएको बैठकमा सडक निर्माणलाई तीब्रता दिने निर्णय भएको थियो । सडक निर्माणमा सर्वपक्षीय छलफल जुटेपछि अस्ति बिहानबाट बुटवलको चौराहादेखि ट्राफिकचोकसम्मको सडक तत्काल कालोपत्रे र ढलान गर्न शुरु गरिएको हो ।
नगर प्रमुख खेलराज पाण्डेका अनुसार नगरपालिकाको पहलमा सम्बन्धित निकायसँग समन्वय गरी सडक मर्मत,कालोपत्रे तथा ढलानको काम आरम्भ भएको हो । चौराहामा रहेको प्रथम शहीद लखन थापाको शालिक वरिपरि भत्किएको भाग र पुष्पलाल पार्क (अस्पताल लाइनमा) मा ढलान र नाली निर्माण हुन लागेको हो ।
उनले भने,‘बुटवलका सबै खाल्डाखुल्डी पुरिनुका साथै भुड्कीचोकदेखि ट्राफिकचोक,भूपि शेरचन चोकसम्मको सडकलाई कालोपत्रे गर्ने प्रक्रिया अगाडि बढाएका छौं । तत्काल बुटवलका नागरिकलाई धुलो,धुवाँ र फोहोरमैलाको प्रदूषणबाट टाढा राख्ने योजना बनाएका छौं ।’
आफूले सबैलाई समेटेर लैजाने प्रक्रियाको थालनीस्वरुप प्रमुखको कार्यकक्ष र सभाकक्षमा जननायक वीपी कोइराला र कम्युनिष्ट पार्टीका संंस्थापक पुष्पलालको फोटोसमेत राखिएको उनले बताए ।
गत वर्षको वर्षायाममा बुटवलको ज्योतिनगरमा गएको पहिरो व्यवस्थापन र करिब १४ हजार अव्यवस्थित सुकुम्बासीलाई बसोबासका आधारमा प्रमाणपत्र बितरणको काम पनि छिट्टै थालिने उनको भनाइ छ । सरकारले आर्थिक वर्ष २०७८/७९ मा कर्साघाटमा कृषिउपज थोक बजार निर्माणको लागि बजेट छुट्टाए पनि जग्गा प्राप्ति नहुँदा निर्माण कार्य हुन नसकेको हो ।
कृषि उपज संकलन, प्रशोधन तथा ब्राण्डिङ्ग गरी स्वदेशी तथा विदेशी बजारमा विक्री वितरण गर्ने उद्देश्यसहित नेदरल्याण्ड सरकारको अनुदानमा निर्माण हुन लागेको बजार निर्माणको लागि स्थानीय १५ नम्बर वडामा करिब ४३ बिघा जग्गा व्यवस्थाको निम्ति आवश्यक समन्वय गरी पहल थालिएको पनि नगर प्रमुख पाण्डेको दाबी छ ।

मेयर र उपमेयरले बुटवल उपमहानगरपालिकामा कार्यरत सफाईकर्मीसँग सहभोज गरेर गणतन्त्र दिवस मनाइएको छ । आजको सहभोजले आफूहरुलाई गौरवान्वित बनाएको सफाईकर्मीहरुले बताएका छन् ।
टिप्पणीहरू