विमान दुर्घटनास्थल नजिकै सेनाको हेलिकप्टरबाट एअर ड्रप
हिजो बिहानदेखि हराइरहेको तारा एअरको विमान आज बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । हिजो बिहान पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको जहाज जोमसोम नजिकै पुगेपछि सम्पर्कविहीन भएको थियो ।
विमान अनकण्टार पहाडमा ठोक्किएर दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको हो । उद्धारको निम्ति सेनाको हेलिकप्टरले सेना, प्रहरीलगायत आधा दर्जनलाई भर्खरै त्यहाँ ओरालेको छ । टोलीमा सेनाका लेफ्टिनेण्ट, प्रहरीका इन्सपेक्टर र केही पवर्तारोही शेर्पाहरु गरी छ जना छन् ।
दुर्घटनाग्रस्त विमानमा आगलागी भएको देखिँदैन । आगलागी नभएकाले यात्रु र चालक दलका सदस्यको मृत शरीरमा आगो लागेको छैन । तर विमान टुक्रा टुक्रा भएको छ ।
साढे दुई वर्षअघि तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारी र टोली चढेको हेलिकप्टर ताप्लेजुङमा भएको दुर्घटनामा यस्तै देखिएको थियो । मृतक कसैको शरीरमा पनि आगो लागेको थिएन ।
पहाडमा ठोक्किएर भएको दुर्घटनाका कारण शव बटुल्न केही समय लाग्ने देखिएको छ । विमान मानापाथी हिमाल फेदी थासाङ गाउँपालिकाको सानुसरेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । सानुसरे कोबाङबाट नजिकै पर्छ ।
यात्रुहरुको शव पोखरा ल्याउने तयारी छ । विमानमा दुई जर्मन नागरिक,चार भारतीय, १३ नेपाली र तीन जना चालक दलका सदस्यसहित २२ जना थिए ।
सोही जहाजमा राजनकुमार गोलेसहित मुक्तिनाथ दर्शनमा गएका एकै परिवारका ७ जना थिए
टिप्पणीहरू