तारा एयरको विमान दुर्घटना : १४ जनाको शव फेला, पहिचान हुन बाँकी
मुस्ताङमा तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटनामा परेर ज्यान गुमाएकामध्ये १४ जनाको शव फेला परेको छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी (सिडियो) नेत्रप्रसाद शर्माले दुर्घटनामा ज्यान गुमाएकामध्ये अधिकांशको शव फेला परेको जानकारी दिए । क्षतविक्षत अवस्थामा शव फेला परेकाले पहिचान हुन सक्ने अवस्था नरहेको उनले बताए ।
उनले भने, ‘मृतकहरुको उद्धार कार्य जारी छ । हालसम्म अधिकांशको शव फेला परेको छ । मृतकको शव क्षतविक्षत अवस्थामा भेटिएको छ । अझै केही शव संकलन गर्न बाँकी नै छ । यहाँको मौसम पनि त्यति राम्रो नभएकाले शव संकलन गर्न गाह्रो परेको छ ।‘
सिडिओ शर्माका अनुसार एयर डाइनेष्टी, कैलाश हेलिकप्टर र फिस्टेल एयरको हेलिकप्टरले उद्धार गरि रहेको छ । नेपाली सेना, प्रहरी र स्थानीयवासी बिहानैदेखि उद्धार कार्यमा खटिएको उनले जानकारी दिए ।
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका-२ को सानुसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा आज बिहान फेला परेको हो ।
टिप्पणीहरू