आफू रित्तिएर अरुलाई रेट्ने अस्त्र, को–को निर्वस्त्र !
राजनीतिको एउटा निर्मम नियम हो, कहिलेकाँही आफू सकिएर अरुलाई सिध्याउनैपर्ने ! यही नियमभित्र बसेर यसचोटिको स्थानीय निर्वाचनमा एकीकृत समाजवादीले एमालेलाई नराम्रो धक्का दिएको छ । कहिल्यै नभत्किएका एमाले किल्लाहरू यसचोटि खल्र्यामखुर्लुम भएका छन् ।
यसो गर्दा सहनुपर्ने, अपमान र बेइमानीको पीडालाई उद्देश्य पूरा नहुञ्जेल व्यक्त गरिँदैन । ‘तर, गुम्साउने पनि कतिञ्जेल ?’ एकीकृत समाजवादीका नेताहरू अहिले यसो भन्न थालेका छन् । केपी ओलीको व्यक्तिवादी अहंकारले देशको संविधान र व्यवस्थामाथि गरेको ज्यादती र पार्टीका निश्चित नेता–कार्यकर्तामाथि गरिएको व्यवहारका कारण एमाले फुट्यो । त्यसपछिका समाजवादी नेताको स्थिति यस्तो छ, फुटको पीडा एकातिर, आफूहरू फुटेका कारण पूर्वपार्टीलाई क्षति पु¥याउनुपर्ने राजनीतिक ‘धर्म’ अर्कातिर, अनि सहयात्री दलहरूका अपमान र बेइमानीका दुःख बेग्लै !
ओलीले सामूहिक निर्णय नगर्दा पार्टी फुट्यो । बैठकहरू त बसे, तर ओलीका एजेण्डा सदर गर्नमात्रै । टिकट उनले बाँडे, अश्वासन पनि उनैले दिए । तर, अरुले त्यसको स्वामीत्व लिएनन् । त्यसमाथि पुराना मान्छेलाई उपेक्षा गरेर कोमल वलीहरूलाई राष्ट्रिय सभामा जिताएको रिस एमालेभित्रै रहेका नेता–कार्यकर्तामा छँदैछ । आफ्नो फुट्यो भने अन्यत्रका मान्छे भिœयाएर क्षतिको पुर्ताल नहुँदोरहेछ भन्ने पनि एमालेको हकमा पुष्टि भयो ।
अब प्रदेश, प्रतिनिधिसभाको चुनाव ६ महिनापछि हुँदै छ । अहिले बनेको पाँचदलीय गठबन्धन फेरि पनि एमाले हराउन काफी छ । यसपछि एमालेले चुनावमात्र हार्दैन, सबै कुरामा असर पर्छ । जस्तो कि, सरकारमा जाँदैन । संवैधानिक परिषद्, माघमा राष्ट्रपतिको चुनाव, प्रधानन्यायाधीश, न्यायाधीश नियुक्तिसम्म यसले असर गर्नेछ ।
ओलीद्वारा विकासका नाममा आयोजनाहरू शुरु र सम्पन्न हुनुअघि नै गरिएका उद्घाटन, शिलान्यासलाई पनि जनताले पत्याएनन् । पत्याएका भए त्यही नाममा भोट खनिन्थ्यो । ओलीको मात्र हैन, उनीसँगै अरु नेताका विरासत पनि भत्किएका छन् । बुटवलमा विष्णु पौडेलको सहमति नहुँदाहुँदै शंकर पोखरेलको बलमा बाबुराम भट्टराईले टिकट पाए । अहिले हारेका छन् । त्यो पराजयको सीधा असर परेको विष्णु पौडेललाई हो, नैतिक असर मात्रै पर्छ, शंकर पोखरेललाई ।
०७४ को परिणामका आधारमा हेर्दा एमालेले आधाभन्दा बढी विरासत गुमाइसकेको छ । पाँचदलीय गठबन्धन गर्ने र दलपिच्छेका स्वार्थको रक्षा पनि गर्नुपर्ने स्थितिले कतिपय ठाउँमा व्यवहारिक तालमेल भएन, अपमानका कारण अलग अलग चुनाव झेल्नुपर्ने स्थिति भयो र त्यसको फाइदा एमालेले नै लियो । उदाहरणका लागि– गठबन्धन गर्दा पनि काठमाडौं महानगरमा कांग्रेसको तुलनामा एकीकृत समाजवादीका उपमेयरले कम मत ल्याइरहेका छन् । निर्वाचन आयोगले उम्मेदवारै नउठाएको ठाउँमा पनि दलको चुनाव चिह्न छापिदिँदा लाखौं भोट बदर भएको छ ।
हार्नेले जितेका र जित्नेले हारेका छन् । दाङको घोराही उपमहानगरमा पाँचदलीय गठबन्धनबाट समाजवादीलाई अलग पारी कांग्रेस र माओवादीमात्रै मिल्दा एमाले अगाडि आएको छ । काठमाडौं महानगरको हकमा केन्द्रबाट तालमेलअनुसार उपमेयर समाजवादीले पाएलगत्तै कांग्रेस महामन्त्री गगन थापाले नेताहरूकै अगाडि भनेका थिए, ‘तपाईंहरूको भोटले जिते जित्नुस्, हाम्राले हाल्दैनन् ।’ हुन पनि नतिजा कस्तो आइरहेको छ भने, मेयरमा रुखमा मतदान गरिएका मतपत्रमा लस्करै रुखै रुखमा मतसंकेत भेटिन्छ । मेयरमा रुखलाई मत दिने विरलै मतदाताले मात्र कलममा मत हालेका छन् । काठमाडौंमा मात्र हैन, मेयर लिएर समाजवादीलाई उपमेयर दिइएका उपमहानगरहरूमा पनि कांग्रेसको व्यवहार उस्तै छ । इटहरीमा केशव बिष्ट, बुटवलमा चीनबहादुर गुरुङले हारेका छन् । अर्थात्, गठबन्धन भयो, मत साटासाट भएन ।
उता, घोराहीको हकमा समाजवादीले पटक–पटक भन्यो, एमालेको किल्ला भत्काउनु छ भने एमालेबाटै विद्रोह गरेका मान्छेलाई उम्मेदवार खडा गर्नुपर्छ, नत्र ‘ब्याक फायर’ हुन्छ । तर, माओवादी र कांग्रेस यसरी मिलिदिए कि समाजवादीलाई पूरै बाहिर राखेर एकलौटी निर्णय गरियो । फलतः त्यहाँ एकीकृत समाजवादीले मेयरमा रामप्रसाद चौधरीलाई उठायो । अनि, ‘ब्याक फायर’ कसरी भयो भने, ‘कांग्रेस र माओवादीको अपमान सहनुभन्दा एमालेकै नरुलाल ठीक’ भनेर समाजवादीकै मतदाताले पनि नरुलाललाई भोट हालिदिए । फलतः अहिले घोराहीमा एमालेले जितेको छ ।
समाजवादीले गठबन्धनमा पालिका प्रमुख पाएर पनि आफूभित्रैको समस्याले कतिपय ठाउँमा समस्या झेलेको छ । जस्तो, हेटौंडामा । उक्त उपमहानगरमा प्रमुख पायो तर पार्टी जिल्ला अध्यक्ष श्रीधर पौडेलहरूले नै पार्टी छोडिदिए । मन्त्री विरोध खतिवडाले ओलीको भन्दा चर्को व्यक्तिवाद प्रदर्शन गरेको श्रीधरको दावीपछि समाजवादीले आफ्नै पोल्टाको कतिपय मत गुमाउनुपरेको छ । हेटौंडामा एकथरि कांग्रेसले एमाले उम्मेदवार अनन्त पौडेललाई, अर्काथरिले राप्रपा उम्मेदवार दिपक सिंहलाई भोट हालेका छन् ।
भनिन्छ, काठमाडौंमा खडा भएका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ‘प्रोजेक्टेड क्याण्डिडेट’, अर्थात् कतैबाट नियोजित रुपमा खडा गरिएका उम्मेदवार हुन् । पहिला पनि काठमाडौं महानगरमा किशोर थापा १८ हजार ४ सय ९६ र रञ्जु दर्शनाले २३ हजार ४ सय ३९ मत ल्याएका थिए । तर, चुनाव जितेनन् । अहिले पनि बालेन्द्रले ६० हजार मत कटाएका छन् । काठमाडौंको जित–हार ६० देखि ७० हजारको बीचमा हुन्छ । ०७४ मा जितेका विद्यासुन्दर शाक्यले ६४ हजार ९ सय १३ मत ल्याएका थिए ।
टिप्पणीहरू