झापा–५ मा ओलीलाई झमेला, २ मा जान नहोला अवेला

झापा–५ मा ओलीलाई झमेला, २ मा जान नहोला अवेला

स्थानीय तहको चुनाव सकियो । जनप्रतिनिधि चुनिए । अबको केही महिनापछि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुन्छ । नेपाली जनताले २०७९ लाई चुनावी वर्षको रूपमा मनाउने भए । चुनावी माहोल तात्दा सिंगो देशको ध्यान झापामा हुन्छ । झापाबाट उदाएका नेताहरू केन्द्रीय तहमा भएपछि चुनावताका सबैको नजर त्यतातिर जाने नै भयो ।

एमाले अध्यक्ष खड्गप्रसाद शर्मा, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, कांग्रेसकै महामन्त्री विश्वप्रकाश शर्मालगायत नेताले चुनाव लड्ने जिल्ला यही हो । यसपटक अरु दुईवटा अनुहार पनि थपिँदैछन् । अघिल्लो चुनावका बेला अन्तिम क्षणमा टिकटबाट वञ्चित अग्नि खरेल । र, प्रचण्डको साथ छाडेर एमालेमा हाम्फालिसक्दा केन्द्रीय सदस्य मनोनित मेडिकल व्यवसायी दुर्गा प्रसाईं ।

केपी ओलीका खास मानिने खरेल २०७४ को संघीय निर्वाचनमै झापा क्षेत्र नम्बर–२ बाट लड्न कस्सिएका थिए । चुनाव आउनु केही महिनाअघि नै झापा पुगेर कसरत पनि गरिहेरे । तर, बिर्तामोडतिरका एमालेले नै उनी झापा गएको मन पराइदिएनन् । अन्य निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लागिसक्दा पनि त्यसबेला २ नम्बर क्षेत्रमा अन्योल नै थियो । अग्निले हार्ने बुझेपछि ओलीले लामो समय आफूसँगै जेलनेल भोगेका नेता नरेश खरेलकी पत्नी पवित्रा निरौला खरेललाई टिकट दिए । पवित्रा सांसद् भइन् । निर्वाचनपछि नयाँ सरकार बनिसक्दा ओलीले महान्यायाधिवक्ता बनाएर अग्निको व्यवस्थापन गरिदिए ।

आफ्ना पुराना मित्र नरेश र उनकी पत्नी पवित्रासँग अहिले भने ओली नराम्ररी बिच्किएका छन् । त्यसकारण केही महिनायता फेरि तिनै अग्निलाई केपीले झापामा बसेर पार्टीको काम हेर्नेगरी पठाएका छन् । अग्नि जिल्ला इञ्चार्ज बनेर झापा डुल्दै छन् । बढी गतिविधि २ नम्बर क्षेत्रमै छ । यसपटकचाहिँ जसरी पनि त्यहाँबाट लड्ने योजना हो । तर, अन्तिम समयमा ओली स्वयंले निर्वाचन क्षेत्र फेर्न सक्ने सम्भावना पनि उत्तिकै छ । ओलीले चुनाव लडिरहेको क्षेत्र झापा–५ हो । तर, यसपटक उनले त्यहाँ आफूलाई सुरक्षित देखिरहेका छैनन् । त्यसैले क्षेत्र परिवर्तन गरेर २ नम्बर क्षेत्र जाने चर्चा चुलिएको छ । त्यसो भइहालेमा ओलीले आफ्नो सधैँको क्षेत्र झापा–५ बाट अग्निलाई उठाउन सक्छन् ।

ओलीले यसपटक निर्वाचन क्षेत्र फेर्न सक्ने केही आधार छन् । अघिल्लो पटक सर्वाधिक मत प्राप्त गरेर शानदार चुनाव जिते पनि यसपटक नराम्ररी झस्किएका छन् । त्यसबेला राप्रपाले सघाएपछि फराकिलो मतान्तरका साथ जितेका थिए । त्यसबेला ओलीको मत ५७ हजार १३९ र कांग्रेसका पराजित उम्मेदवार खगेन्द्र अधिकारीको २८ हजार २९७ मात्र थियो । झापा–५ मा वास्तवमै ओलीलाई यसपालि चुनाव जित्न सहज छैन । स्थानीय चुनावअघि नै यो कुरा बुझिसकेका थिए । अहिले नै माओवादी, कांग्रेस तथा नेकपा एस एकातिर र एमाले एक्लै अर्कातिर भएको स्थिति छ । स्थानीय मतपरिणाम आइसकेपछि त अब झन् धर्मर हुनु स्वाभाविकै हो ।

अघिल्लो पटक सघाएको दल राप्रपासँग पनि सम्बन्ध नराम्रोसँग चिसिएको छ । ओलीलाई यसपटक राप्रपाले सघाउने कुनै छनक देखिँदैन । अझ दमकको मेयरमा राप्रपाकै राम थापा विजयी भएपछि ओलीलाई औडाहा भएको छ । ओलीको निर्वाचन क्षेत्रमा दुई गाउँपालिका तथा दुई नगरपालिका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा यी चार पालिकामध्ये एमालेले कमल र दमक जित्दा गौरादह र गौरीगञ्ज गुमाएको थियो ।

दर्बिलो पकड रहेको दमक यसपटक राप्रपाले लगिदियो । अघिल्लो पटक गोला तानेरै भए पनि एमालेकी मेनका काफ्लेले जितेको कमल गाउँपालिकाको तालाचाबी अहिले कांग्रेसले लिइसक्यो । अघिल्लो पटक चिठ्ठामा हारेका हुकुमसिंह राईले नै अबको ५ वर्ष पालिकामा हुकुम चलाउनेछन् । गौरीगञ्जमा कांग्रेसकी उम्मेदवार फूलवति राजवंशीले जितिन् । त्यहाँ एमालेले उपाध्यक्ष जित्यो । झापा–५ मा यसपटक एमालेले प्रमुख पद जितेको गौरादह मात्र हो ।

नतिजा हेर्दा क्षेत्र नम्बर ५ मा एमालेको अवस्था इतिहासकै सर्वाधिक कमजोर बनेको छ । अब हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचननिम्ति अहिलेको परिणामले एमाले नेतृत्वलाई झस्काइदिएको छ । यसैकारण आफू सुरक्षित रहनका लागि यसपटक ओली क्षेत्र नम्बर २ जान खोजेका हुन् ।

यही क्षेत्रचाहिँ एमालेको बलियो पकडमा देखिन्छ । अर्जुनधारा नगरपालिकामा ११ मध्ये ७ वटा वडा कांग्रेसले जिते पनि मेयर–उपमेयर एमालेले नै हात पा¥यो । बिर्तामोड नगरपालिकामा एमालेले मेयर, उपमेयर तथा १० मध्ये ६ वटा वडा जित्यो । यसकारण अब आउने प्रतिनिधिसभा निर्वाचनमा झापाका अन्य स्थानभन्दा २ नम्बर क्षेत्रलाई नै ओलीले आफ्ना लागि सुरक्षित देख्दै छन् । त्यसो त मतपरिणाम हेर्दा ४ नम्बर निर्वाचन क्षेत्र पनि ओलीका लागि सुरक्षित नै हो । तर, त्यहाँबाट यसपटक पनि व्यवसायी नेता एलपी साँवा नै उठ्नेछन् । किनभने चुनावका बेला ओलीलाई भरअभर आर्थिक सहयोग गर्न सक्नेमा गनिन्छन् साँवा ।

उता क्षेत्र नम्बर–३ कांग्रेस नेता कृष्ण सिटौला र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको महासंग्राम हुने ठाउँ हो । पहिले पनि लिङ्देनसँग १३ हजार ४४३ मतले सिटौला पराजित भए । ४४ हजार ६१४ लिङ्देन र ३१ हजार १७१ सिटौलाले पाएको मत हो । हुन त त्यस निर्वाचनमा ओलीको सहयोगमा लिङ्देन र लिङ्देनको सहयोगमा ओलीले जितेका हुन् ।

यसपटक लिङ्देनसँग सम्बन्ध बिग्रिएपछि झापा–३ मा नयाँ पात्रलाई प्रवेश गराएर त्रिपक्षीय भिडन्त गराउने दाउ छ । सिटौला र लिङ्देनसँग भिड्नका लागि ओलीले दुर्गा प्रसाईंलाई तालिम दिइसके । ओलीबाट तालिमप्राप्त दुर्गा अहिल्यैदेखि दिनमा एकपटक दक्षिणी झापा पुग्छन् । विपन्न वर्गका छाप्रामा गएर हातहातमा पैसा राखिदिनेदेखि त्यस क्षेत्रमा बिरामीलाई उठाउँदै बिर्तामोड लगेर आफ्नो अस्पतालमा केही दिन उपचार गरेजस्तो पनि देखाउँछन् ।

बिहे, व्रतबन्ध, पूजालगायत कार्यक्रममा जाँदा पनि भोट माग्न थालिसके । झण्डै एक महिनाअघि झापा–३ मै किराँत धर्मावलम्बीहरूको एउटा धार्मिक कार्यक्रमको मञ्चमा चुनावलक्ष्यित भाषण गर्दा स्थानीयले राम्रैगरी लखेटेका थिए । चर्को विरोध भएपछि भाषण टुंग्याएर टाप कसे । अश्लील शब्द प्रयोग गरेर गफ गर्न खप्पिस प्रसाईं यतिबेला लिङ्देन र सिटौलालाई सहजै चुनाव हराउने कल्पनामा छन् ।

तर, यिनलाई एमालेभित्रकैले मन पराउँदैनन् । झन् माओवादीतिरकाले मन पराउने कुरै भएन । दुर्गा एमालेमा लागेदेखि माओवादी झापाका नेताहरूले त घाँडो पन्छिएको भन्दैछन् । त्यसकारण पनि झापा–३ मा मुख्य प्रतिष्पर्धा लिङ्देन–सिटौलाकै हो । चुनावका बेला घरघरमा पैसा पु¥याउनचाहिँ सिटौला पनि माहिर छन् । हुन त अघिल्लो चुनावमा पनि सिटौलाले दिएका भारु नोट चुपचाप समातेर भोटचाहिँ लिङ्देनलाई नै हालेका हुन् त्यहाँका मतदाताले ।

यसपटकको स्थानीय निर्वाचनमा राप्रपाले कचनकवल गाउँपालिका गुमाए पनि हल्दिबारी गाउँपालिकामा प्रमुख–उपप्रमुख तथा भद्रपुर नगरपालिकामा उपमेयर जितेपछि आफ्नो क्षेत्रमा लिङ्देन सन्तुष्ट देखिन्छन् । पार्टीको केन्द्रीय अध्यक्ष भएयता व्यस्तता बढे पनि उनी आफ्नो निर्वाचन क्षेत्र गइरहन्छन् । घरघरका मतदातासँग उनको चिनजान छ । आफ्नो क्षेत्रका प्रायः जनतालाई नामै लिएर सम्बोधन गर्न सक्छन् । अध्यक्ष भएपछि देशभर लिङ्देनको क्रेज बढेको छ । त्यसैले दोस्रो पटक सांसद बन्नेमा ढुक्क देखिन्छन् ।

अघिल्लो पटक लिङ्देनसँगै हारेका सिटौला पनि यसपटक केही हौसिएका चाहिँ पक्कै छन् । कहिलेकाहीँ मात्र भद्रपुर पुग्ने उनी यसपटक केही दिन आफैँ खटेका थिए । अघिल्लो स्थानीय चुनाव एमालेले जितेको भद्रपुर यसपटक कांग्रेसले लग्यो । सिटौलाकै प्रिय पात्र गणेश पोखरेल मेयर भए । उपमेयरमा राप्रपा नेतृ राधा कार्की आएपछि भने सिटौलालाई निकै खल्लो भएको छ । तर, एमालेसँग गठबन्धन गरेरै भए पनि कचनकवल गाउँपालिकाको प्रमुख र ६ वटा वडामा कांग्रेसले जितेपछि सिटौला निकै फूर्तिलो भएझैँ गर्दैछन् ।

लिङ्देनले पनि आफ्नो बसोबास रहेको हल्दिबारी गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षसहित दुईवटा वडामा प्यानललाई नै जिताएर देखाइदिए । अर्को एउटा रोचक विषय छ, हल्दिबारीमा राप्रपालाई हराउन यसपटक एमाले अध्यक्ष ओली आफैँ भाषण गर्न पुगेका थिए । त्यहाँ पुगेर ओलीले लिङ्देनमाथि केही वाक्य प्रहार गरे । तर, त्यहाँ एमालेले एउटा वडाध्यक्ष मात्र जित्यो । त्यसो त राप्रपासहितको गठबन्धन हराउन ओली दमक पनि पुगेका हुन् । त्यहाँ पनि उनको केही लागेन । राप्रपाका रामकुमार थापा दमकको मेयर बने ।

उता कांग्रेस महामन्त्री विश्वप्रकाशको पनि आफ्नै व्यथा छ । ‘सानो वीपी’ देशभर चर्चामा रहे पनि आफ्नै जिल्लामा आलोचित भइरहन्छन् । चुनाव हारिरहने बानी परेका उनले यसपटक पनि आफ्नो गृहनगरमा एउटा उपद्रो गरे । कांग्रेस प्रदेश समितिले मेचीनगर नगरपालिकाको मेयरमा यसपटक व्यवसायी केशवराज पाण्डेको नाम मात्र सिफारिस गरेको थियो । दलबलसहित उम्मेदवारी दर्ता गराउन पुगेका बेला पाण्डेको टिकट खोसिदिए विश्वप्रकाशले ।

अन्तिम क्षणमा सभापति देउवालाई फकाएर आफूनिकट इन्द्रबहादुर बुढाथोकीलाई उम्मेदवार तोक्न लगाए । यस्तो रडाको भएपछि उम्मेदवारी दर्ता नगरी पाण्डे घर गए, बुढाथोकीले उम्मेदवारी दर्ता गराए । यसैको प्रतिफल अहिले मेचीनगरमा कांग्रेसले व्यहो¥यो । मेचीनगरको मेयर–उपमेयर नै एमालेले जित्यो । कांग्रेसका उम्मेदवार इन्द्रबहादुर ५ हजार १६७ मतको अन्तरले पराजित भए । मेचीनगरमा एमालेले प्रदेश सांसदबाट राजीनामा गराएर गोपालचन्द्र बुढाथोकीलाई उठाएको थियो । गोपालले आफ्नै थरका कांग्रेस उम्मेदवारलाई पराजित गरे ।

यसरी आफ्नै नगरमा विश्वप्रकाशले चकचक गरेपछि झापाका कार्यकर्ता खुशी छैनन् । संविधानसभा निर्वाचनमा एमालेका रविन कोइरालासँग र अघिल्लो चुनावमा पाहुना उम्मेदवार माओवादी नेता सुरेन्द्र कार्की (उनलाई राम कार्की पनि भन्छन्) सँग पराजय व्यहोरेका विश्वप्रकाश यसपटक पनि आफ्नो क्षेत्रमा सुरक्षित देखिँदैनन् । झन् आफ्नै पार्टीका नेता कृष्ण सिटौलासँग वर्षौंअघिदेखि सम्बन्ध खस्रो छ । सिटौला र उनीनिकट कार्यकर्ताले नै विश्वलाई झापामा असहयोग गर्ने गरेका छन् । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सुरेन्द्र कार्कीसँग २ हजार ८६३ मतले हारेपछि विश्व माननीय बन्न नपाएका हुन् ।

केही महिनाअघि एमालेबाट अलग्गिएर जन्मिएको नेकपा एकीकृत समाजवादीले भने यसपटक झापाबाट केही आश गरेको छैन । स्थानीय चुनावमा नै आफूलाई जाँचिसक्यो । झापाको कमल गाउँपालिका–२ नम्बर वडामा प्यानल नै जितेको बाहेक स्थानीय चुनावमा एस पार्टीले केही गर्न सकेन । पहिलो संविधानसभा निर्वाचनमा सबैलाई चकित पारेको माओवादी पनि झापामा अहिले पूरै सुस्ताएको छ । संघीय चुनावमा माओवादीले झापाबाट गतिलो अपेक्षा गर्नेवाला छैन ।

किनभने यसपटक स्थानीय चुनावमा गठबन्धन गरेर पनि उसले जनमत पाएन । झापाका १५ स्थानीय तहमध्ये कचनकवल, हल्दिबारी, गौरीगञ्ज र झापा गाउँपालिकामा प्रमुख तथा १३ पालिकाको उपप्रमुख पदमा उम्मेदवारी दिए पनि माओवादीले एउटै जित निकाल्न सकेन । केही वडाध्यक्षमा सीमित रह्यो । त्यसो त २०७४ को स्थानीय तह निर्वाचनमा पनि झापामा माओवादी केन्द्रको हालत यही थियो । त्यसकारण संघीय निर्वाचनमा तालमेल नगरे झापामा माओवादी केन्द्र र नेकपा एसको विजोग देखिन्छ ।

– दीपक धमला

टिप्पणीहरू