यी युवक जसले रातभर दुर्घटनास्थल छाडेनन्

यी युवक जसले रातभर दुर्घटनास्थल छाडेनन्

आइतबार बिहान पोखराबाट उडेको तारा एअरको ट्वीनअटर विमान जोमसोम नजिकै पुगेपछि सम्पर्कविहीन भयो । दिनभर खोजी गर्दा पनि विमान र यात्रुको कुनै अत्तोपत्तो लागेन । साँझ परेपछि उद्धारमा खटिएका सेना, प्रहरी,पर्वतीय आरोहणकर्ता शेर्पाहरु बासको लागि विकल्पको खोजीमा लागे ।

रात पर्दै गएको ए प्रतिकूल मौसमका कारण औपचारिक रुपमा खोजी कार्य सोमबार बिहान सबेरै थालिने बताइयो । तर,दुर्घटनास्थल नजिकै अज्ञात अवस्थामा रहेका यात्रु पत्ता लगाउन अनकण्टार र चिसो पहाडमा केही प्रहरी र स्थानीय भने रातभर खटिएका थिए । तिनैमध्येका हुन् सुमित गौचन ।

सुमित र उनको टोलीले बिहान झिसमिसेमा जहाजको भग्नावशेष र मृतकहरुको शव देखेपछि तत्काल अर्का स्थानीय ईन्द्र गौचनलाई खबर गरेका थिए । उनै ईन्द्रलाई पच्छ्याउँदै सेना,प्रहरी र आरोही टोलीका उद्धारकर्ताहरु मुस्ताङको थासाङ गाउँपालिका २, कोबाङको सानो सरेभीर पुगे ।

उक्त भीरमा रातिदेखि नै सुमित गौचनलगायत तीन जना विमान र यात्रुको खोजीमा सक्रिय थिए । त्यसपछि शव संकलन र उद्धारका अन्य कार्य थालियो ।

हिजो साँझसम्म २१ जनाको शव फेला परेको छ । एक जना अझै हराइरहेका छन् । तीमध्ये १० वटा शव सेनाको हेलिकप्टरमा ल्याएर काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय,शिक्षण अस्पतालमा राखिएको छ । धेरैजसो शव सग्लो देखिन्छन् । अधिकांशको टाउको,हात र गोडामा चोट लागेको छ ।

टिप्पणीहरू