सगरमाथा चढेर फर्कनासाथ राजदूतद्वारा सम्मान

सगरमाथा चढेर फर्कनासाथ राजदूतद्वारा सम्मान

पाकिस्तानको राजधानीमा नेपाली राजदूतावासद्वारा हिजो सगरमाथा दिवस मनाइएको छ ।

उक्त कार्यक्रममा हालै सगरमाथा आरोहण गरेका अब्दुल जोसीलाई बधाई र सम्मान गरिएको थियो । जोसीले दुई साताअघि मे १६ का दिन सगरमाथाको सफल आरोहण गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत तापस अधिकारीले पर्वतीय र साहसिक पर्यटनले पाकिस्तानका युवा पुस्तालाई थप आकर्षण गर्ने उल्लेख गर्दै भन्नुभयो, ‘यसले दुई देशबीच जनस्तरमा सम्बन्ध मजबुत तुल्याउन सघाउने छ ।’

राजदूत अधिकारीले यसबाट दुवै देशमा रहेका उच्च शिखर र हिमालय पर्वतमालामा परेको जलवायु परिवर्तनको असरलाई कम गर्न सहकार्य हुनसक्ने विश्वास व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा सम्मानित पर्वतारोही जोसीले सगरमाथा आरोहणका क्रममा आफूले भोगेका र देखेका अनुभवलाई रमाइलो तरिकाले प्रस्तुत गरेका थिए । उनले भने, ‘ट्रेकिङ र पर्यटन क्षेत्रमा पाकिस्तान र नेपाल दुवैले मिलेर कार्य गर्न सकिने धेरै सम्भावना छ ।’

दूतावासका अन्य अधिकारीहरुको समेत उपस्थिति रहेको कार्यक्रमलाई स्थानीय सञ्चारमाध्यमले समेत निकै महत्व दिएका छन् ।

सगरमाथा दिवस सन् १९५३ मे २९ का दिन पहिलो सफल आरोहण गरेका तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीको सम्झनामा आयोजना गरिएको हो । यो दिवस नेपालबाहेक न्युजिल्याण्ड,अष्ट्रेलिया र अन्य धेरै मुलुकमा समेत आयोजना गरिएको छ ।

बिश्वका अग्ला हिमशिखरमध्ये तेश्रो चौथो नम्बरको K2 पाकिस्तानमा पर्छ ।

टिप्पणीहरू