स्वयम्भू वरपरका जेष्ठ नागरिकको उपचार घरमै निःशुल्क गरिने
काठमाडौ महानगरपालिका वडा नम्बर १५ कार्यालयको पहिलो बैठकले वडाका ७५ वर्ष उमेर माथिका जेष्ठ नागरिकलाई घरमै निःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।
वडाध्यक्ष ईश्वरमान डंगोलको अध्यक्षतामा आज बसेको बैठकले आफ्ना मतदातालाई धन्यवाद दिँदै ७५ बर्ष पुगेका वडाका जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य उपचार गरिदिने निर्यण गरेको हो । सामुदायिक स्वास्थ्य सेवा परिषद्सँगको सहकार्यमा डाक्टरहरु सहितको दक्ष टोलीले निःशुल्क स्वास्थ्य उपचार गर्ने भनिएको छ ।
वडाबाट सेवाग्राहीले पाउने सुविधामा विगतको तुलनामा स्तरोन्नति गर्ने निर्णयसमेत गरेको छ ।
विश्व सम्पदासूचीमा सूचीकृत स्वयम्भू महाचैत्यलाई काठमाडौं महानगरपालिका वडा नम्बर १५ को बहुआयामिक विकास र पर्यटनमुखी सम्पदामैत्री बनाउन र वडालाई सांस्कृतिक वडाको रुपमा निर्माण गर्ने निर्णय गरिएको छ । साथै वडाले गरेको हरेक कामबारे जनताबाट प्राप्त हुने प्रतिक्रिया र गुनासो सुन्न वडामा सुझाव पेटिका राख्ने भनिएको छ ।
बैठकमा वडाका सम्पूर्ण निर्वाचित वडा सदस्य र वडा सचिवको उपस्थिति उक्त निर्णय गरिएको बताइएको छ ।


टिप्पणीहरू