कसले पत्याउँछ यी उनै रोल्पाली मन्त्री हुन् ?
– जीवन डाँगी
सातदोबाटोस्थित घरअघिको फराकिलो आँगनमा भेटिन्छन्, ‘बा’ अर्थात् बालाराम घर्तीमगर ।
यदि कसैले सम्पर्क गरेछ भने बेर नगरिकनै फोन उठाउँछन् । परिचय माग्छन्, दिन्छन् । भेट्न घरभित्रै बोलाउँछन् भेटवार्ता गर्छन् । आफैँ बनाउँछन्, ल्याउँछन् अनि चियाको चुस्कीसँगै ‘बात’ मार्छन् । चिटिक्क परेको रातो घर । चारैतिर करेसाबारी । घरअघिको दुबेचौर । बगैँचामा लहरै बिछ्याएका काठे–मेच । न प्रहरी, न सहयोगी । वरिपरि खेलिरहेका तीन वटा कुकुर । रहरलाग्दा फलफूलका बिरुवा । घर्तीनिवास जो छिर्छ ऊ आफैँ गेट खोल्छ, जो फर्किन्छ आफैँ बन्द गर्छ ।
घरछेउका स–साना बालबालिका मन्त्री ‘बा’ भन्छन्, लखेटालखेट गर्छन्, कराउँछन् । उफ्रिन्छन् । थाक्छन् । अनि दैलोतिर लाग्छन् । बालाराम केटाकेटीसँग खेल्न खुब रूचाउँछन् । गफिन मन पराउँछन् । एकैछिन भए पनि बाल्यकाल कल्पिन्छन् । त्यो आफ्नो बालापनको स्मरण गर्छन्– मिझिङ फर्किन्छन् । अनि खोलानाला र वनपाखा सम्झिन्छन् । सँगसँगै लडिबुडी खेल्छन्, रमाउँछन् । विक्रम संवत् २००५ तिरको रोल्पाझैँ ठान्छन्, ललितपुरमै हराउँछन् । राजनीतिको यात्रामा निथ्रुक्क भिजेका छन्, बालाराम । तर डुबेका छैनन् । बरू थाकेका छन् । हारेका छैनन् । गतिशील छन्, सन्यासको कुरै गर्दैनन् । उल्टै प्रश्न गर्छन्, ‘राजनीति भनेको समाज सेवा हो । समाजसेवामा पनि सन्न्यास हुन्छ र ?’
नेता–कार्यकर्तालाई तान्ने र तन्काउने नेपाली राजनीति जसरी चलोस्–चलोस् तर उनी जपिरहन्छन्– त्याग, समर्पण र निष्ठा । बिना टिप्पणी छाती ठोक्छन्, आफ्नो गर्विलो सिंहदरबार यात्रा र बिदाइप्रति । पञ्चायतका ३० वर्ष मात्रै होइन, बहुदलका ८ वर्ष पनि राजा, शीर्ष पञ्चायती नेता र जनताको केन्द्रबिन्दुमै रहे, बालाराम । सम्भवतः नेपालको सबैभन्दा धेरै अवधि सांसद हुनेमध्ये एक हुन् । २०१५ सालको संसदीय निर्वाचनले झोला बोक्न सिकायो । तर, २०१८ सालमा भने गाउँ पञ्चायतको चुनावसँगै आफैँ राजनीतिको राजमार्गमा ओर्लिए । जब वडासदस्य निर्वाचित भई जनताको काममा जुटे, तब पछाडि फर्केर हेर्नु परेन ।
रोल्पा र ललितपुरका मतदाताको अथाह प्रेम रह्यो । राजाको विश्वास जिते । जनताको माया पनि ! परिवार, राजनीति, धर्म, इतिहास, संस्कृति र दर्शनशास्त्रले भरिपूर्ण छन्, बालाराम ‘बा’ । समर्थकहरू विभिन्न विशेषणले विभूषित गर्छन्, उनलाई । घृणा गर्नेभन्दा माया, आदर र सम्मान गर्नेको ठूलो जमात छ । रोल्पादेखि काठमाण्डूसम्मको सामाजिक, राजनीतिक कर्मलाई मार्मिक र तथ्यपरक रूपमा प्रस्तुत गर्छन् । बुद्धको सन्देश, योगी नरहरिनाथको जीवनी र स्वामी प्रपन्नाचार्यको दर्शनलाई हृदयबाट मनन गर्छन्, उनी ।
पञ्चायतदेखि लोकतन्त्रसम्मका अनेकौँ यात्रा साँच्चिकै रोचक र रहरलाग्दा छन् । ‘शासन व्यवस्था समयअनुसार परिवर्तन र परिमार्जित हुन्छन्, हिजो पञ्चायत थियो, आज गणतन्त्र आयो , राज्यसत्ता जनशक्तिमा निर्भर हुन्छ, नेपाली जनताले जे चाहन्छन्, त्यही हुन्छ, ’ उनी भन्छन् । चर्चाबाट टाढा छन् । सात वटा प्रधानमन्त्रीसँग सिंहदरबार छिरे तर आफैँलाई थाहा छैन कतिपटक मन्त्री बने ।
डा. तुल्सी गिरी, सूर्यबहादुर थापा, नगेन्द्रप्रसाद रिजाल, कीर्तिनिधि विष्ट, लोकेन्द्रबहादुर चन्द, मरिचमान सिंह र शेरबहादुर देउवा– यिनै प्रधानमन्त्रीसँग बालाराम पटकपटक मन्त्री बनेका छन् । उनीसँग प्रधानमन्त्री र अर्थमन्त्रीबाहेक लगभग सबै मन्त्रालय चलाएको अनुभव छ । प्रधानपञ्च, जिल्ला पञ्चायत उपसभापति, राष्ट्रिय पञ्चायत सदस्य मन्त्रीदेखि राजपरिषद् सदस्यको अनुभव संगालेका छन् ।
पटकपटक मन्त्री, सांसद बन्दा झण्डै ३८ वर्ष त सिंहदरबारमै बिताए । तर आजकल बिरलै जान्छन्, त्यहाँ । आजकलको सिंहदरबार जनताले रूचाएझैँ मान्दैनन् । असल, सभ्य कमै भेटिन्छन्– मन्त्री, सांसद । घुस खान्छन्, बार्गेनिङ गर्छन् । मतदातालाई दुःख दिन्छन् । गफिँदै जाँदा आफ्नै समीक्षा गर्छन्– ‘ममाथि कसले आँखा जुधाउन सक्ला र ?’ गुट, फुट र लुटको पछि लागेनन् । भ्रष्टसँग भागेनन्, भ्रष्टाचार गरेनन् । एकसरो कपडामै हिँडे । तर, कसैको एक सुको लिएनन् । भन्छन्– लड्नू, उठ्नू अनि हिँड्नू । हिँडिरहनू, दौडिरहनू, बस् नबिसाउनू ।
जहाँ जन्मिए बालाराम, जहाँ सिके राजनीति
सोमबार जन्मिएका हुन् । वि.स. १९९४ साउन १८ गते । जन्मस्थान– तत्कालीन प्यूठान जिल्ला बाइसखुवाथुमअन्तर्गत मिझिङ मौजाको उपल्लोथर हालको रोल्पा जिल्ला सुनिलस्मृति गाउँपालिका ।
बुबा नरबहादुरका चार श्रीमतीमध्ये जेठी टीकाकुमारीको कोखबाट पहिलो सन्तानका रूपमा जन्मिए । बाजे सन्त के घर्तीमगरसँगै हुर्किए । उनैबाट कखरा सिके । पारिवारिक वातावरणले समाजसेवामा लागे । उमेर बढ्दै जाँदा विस्तारै राजनीतिको नशा पनि चढ्दै थियो । राणाशासनको अन्त्यपछि गाउँमै स्कुल खुल्यो– चन्द्रप्रभा प्राइमरी । संयोगवश उनी नै विद्यालय व्यवस्थापन समितिको सचिव चुनिए । विधिवत् राजनीतिको उकालो यात्रा यहीँबाट आरम्भ गर्छन्, बालाराम ।
रोल्पाका पुराना राजनीतिज्ञ खडानन्द सुवेदीको सल्लाह र सहयोगले आफू राजनीतिको रंगमञ्चमा छिरेको चर्चा गर्न भुल्दैनन् । ‘खडानन्द गुरूसँग भेट २०१५ सालको निर्वाचन–ताका भएको थियो । उहाँ ८३ नम्बर क्षेत्रबाट नेपाली कांग्रेसको उम्मेदवार बन्नुभएको थियो तर उनको निर्वाचनक्षेत्र ७४ नम्बरमा पर्थ्यो । जहाँ उम्मेदवार थिए, अनिरुद्र शर्मा । अन्ततः सुवेदी र शर्मा दुबैले जिते ।
त्यो निर्वाचन, यो निर्वाचन
रोल्पाको एउटा निर्वाचनमा बर्मन बुढाले जिते । बालारामले हारे ! उनी त्यो जितसँग सन्तुष्ट छैनन् । आज पनि भन्छन्, ‘वर्मनजीले भोटले जित्या होइन । इमान्दारपूर्वक सत्य कुरा भन्छु– बुथ क्याप्चर गरेर जित्या हो ।’ बर्मन मानव संसारमा छैनन् । उनले बालारामको आरोप सुन्दैनन्–पढ्दैनन् तर रोल्पाली समाजले भने पक्कै मनन गर्नेछ । त्यो बेलाको निर्वाचनमा पनि सामान्य खर्च हुन्थ्यो । मतदान एजेन्टलाई २–४ सय रूपैयाँ दिँदा पनि पुग्थ्यो । २०१९ सालको मंसिरमा निर्वाचन चर्चा चल्यो । गुरू खडानन्दसँग सल्लाह गरेर गाउँ पञ्चायतबाट जिल्ला सभासद् छानिए ।
२०१९ माघमा जिल्ला पञ्चायतको चुनाव भयो । नारायणप्रसाद चन्द सभापति र बालाराम घर्तीमगर उपसभापति निर्वाचित भए । प्रतिस्पर्धी थिए– मस्तबहादुर चन्द (सल्यान, दमाचौर) । उनी जिल्लासभा र राष्ट्रिय पञ्चायतको चुनावमा पनि पराजित बने । जम्माजम्मी ६ पटक निर्वाचन जितेका छन् । दाङको मानपुर, सल्यान, प्युठान र तीनपटक रोल्पाबाटै जिते । राजनीतिक जीवन पूरै सफल भएको बताउँछन्, बालाराम । व्यक्तिगत प्रश्न गर्दा यसो भन्छन्, ‘पैसा कमाउने बाटो खोजे पाइन्छ । मैले खोजिनँ । आजको दिनसम्म मेरो खातामा एक लाख रूपैयाँ छैन तर काम कहिल्यै अड्किएन । चलिरह्यो ।’
उम्मेदवारले भोट माग्ने शैली फेर्नुपर्ने उनको भनाइ छ । आजभोलिको निर्वाचन खर्चिलो मान्छन्, उनी । निर्वाचनमा उम्मेदवारले खर्च गरेको पैसा साहुको ठान्छन् । ‘साहुको पैसा तिर्नका लागि भएपनि नेताहरूले भ्रष्टाचार गर्छन् । पैसा नतिरे मारिहाल्छन् साहुले, ’ उनी भन्छन् । बालारामले पैसा खर्च गरेनन् तर चुनाव जितिरहे । उनी मतदातालाई विवेकशील देख्छन् ।
टिप्पणीहरू