दौरा सुरुवाल लगाएका लिङ्देनले कोट प्यान्ट लगाएका अर्थमन्त्रीलाई भने- ‘इण्डक्सन चुल्होमा भ्रष्टाचारको गन्ध आयो’
-लक्ष्मी काफ्ले
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले हालै प्रस्तुत बजेटले जनताको जीवनमा परिवर्तन ल्याउन नसक्ने बताएका छन् । नयाँ बजेट मुलुकमा देखिएको आर्थिक संकट तथा मूल्यबृध्दिलाई रोक्नेतर्फ उन्मुख नरहेको पनि लिङ्देनले स्पष्ट पारेका हुन् ।
‘बजेट केवल निर्वाचनलक्षित छ, आगामी निर्वाचनलाई केन्द्रमा राखेर ल्याइएको छ,’ आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफलमा भाग लिँदै लिङ्देनले भने,‘बजेटको स्रोत के हो ?,यसको कार्यान्वयनका आधारहरु के हुन् ? , कहिँ पनि स्पष्ट छैन ।’ विगतका बजेटहरु झैँ यति आम्दानी हुन्छ होला,यति अनुदान पाइन्छ होला, यति ऋण लिइन्छ होला भन्ने अनुमानका भरमा बजेट बनाइएको उनले बताए ।
सरकारले बिना कुनै पूर्वतयारी कमिसनका लागि मात्र इन्डक्सन चुल्होको विषय बजेटमा समावेश गरेको लिङ्देनको आरोप छ । ‘इन्डक्सन चुल्हो बाँड्ने त गरिबलाई होला नि ? चुल्हो चलाउनका लागि त्यही प्रकारको वायरिङ चाहिन्छ । चुल्हो र वायरिङले मात्र भएन, पकाउने भाँडा पनि त्यस्तै चाहिन्छ । यी कुराहरु चाहिँ कसले दिन्छ ?,’ लिङ्देनले भने, ‘अरु कुरा जेसुकै होस्, इन्डक्सन चुल्हो खरिद गर्ने र कमिसन लिइहाल्ने भन्ने कुरा प्रष्ट देखिन्छ,यो कसैले छल्दा छलिने कुरा होइन ।’
देशलाई अग्रगतिमा लानुको साटो परम्परागत ढंगले बजेट वितरण गर्ने, कमिशन लिने र चुनावका लागि खर्च जुटाउने कार्यमा सरकार लागिपरेकोतर्फ लिङ्देनले संकेत गरे । बजेट बनाउनुअघि सरकारले केही कम्पनी तथा उद्योगहरुसँग डिल गरेको लिङ्देनको आरोप छ । बजेट निर्माणअघि ती उद्योग र कम्पनीसँग अग्रिम समझदारी भइसकेको उनले दाबी गरे ।
हचुवाका भरमा बिना कुनै तयारी हेटौँडा कपडा उद्योगबाट उत्पादित लुगाको विषय बजेटमा उल्लेख गरिएको उनले बताए । हेटौँडा कपडा उद्योगबाट उत्पादित लुगाहरु अब सबैले लगाउनुपर्ने भन्ने बुँदा सुन्दा राम्रै लागे पनि उद्योग कहिले चल्ने,कपडा उत्पादन कहिले हुने, उद्योग चलाउने संयन्त्र के हो भन्ने विषय सरकारलाई नै थाहा नभएको लिङ्देनले बताए ।
सदाझैँ राष्ट्रिय पोशाकमा सजिएर संसदमा उभिएका लिङ्देनले भने, ‘मैले अहिले शीरदेखि पाउसम्म नेपाली उत्पादन लगाएर आएको छु, हेटौँडा उद्योगले उत्पादन गरेपछि मात्र होइन,अहिले नै सबैले लगाउने भन्ने व्यवस्था गरौँ न बरु ! ’ मुलुकमा कैयौँ स्वदेशी कपडा तथा जुत्ता उद्योगहरु रहेकाले तिनलाई प्रोत्साहन गरिनुपर्ने उनको तर्क छ । उद्योग कहिले चल्ने, कहिले उत्पादन हुने टुंगो नभई हेटौँडा कपडा उद्योगको कपडा लगाउनुपर्ने कुरा बजेटमा अनिवार्य गरिएकोमा उनले विमति जनाए ।
बजेटमा भनिएको एकै घण्टामै चितवन पुग्ने कुरा सुन्दा राम्रो लागे पनि सरकारले त्यसका लागि आधार र स्रोतबारे केही अध्ययन नगरेको उनको आरोप छ । बजेटमा यस्ता विषयहरु राखेर मानिसलाई भुल्याउने काम भएको लिङ्नेलले बताए । सकेसम्म यस्ता नसक्ने विषयहरु फिर्ता लिन उनले सरकारलाई आग्रह गरे ।
बजेटमा सबैभन्दा बढी भ्रष्टाचार नियन्त्रण र सुशासनको कुरा हुनुपर्ने भए पनि कतै उल्लेख नभएको भन्दै लिङ्देनले आपत्ति जनाए । वैदेशिक रोजगारीमा जाने युवालाई बजेटले केही गर्न नसकेको उनको भनाइ छ । देशभित्र ठूलो संख्यामा रहेका युवा पनि सीमापारि स्थापित लागुऔषध कारोबार केन्द्रको शिकार भइरहेको उनले बताए । ‘ती लागुऔषध कारोबार केन्द्र हाम्रा युवालाई लक्षित गरी स्थापना भएका छन् । तर, त्यसतर्फ यो बजेटको ध्यान गएको छैन,’ उनले भने ।
बजेट परम्पराभन्दा माथि उठ्न नसकेको बताउँदै लिङ्देनले यो कार्यान्वयनको कुनै सम्भावना नरहेको दाबी गरे । ‘यो बजेट कार्यान्वयनको बेला आउँदासम्ममा अर्को निर्वाचन आउँछ, त्यसपछि अर्को सरकार बनिसकेको हुन्छ, यो बजेट त बहसका लागि मात्रै हो,’ लिङ्देनले भने ।
बजेटका कमीकमजोरी तथा भ्रष्टाचारका कुरा उठाउँदा सरकारले जहिल्यै पनि टारेर जवाफ दिने कुरा सुखद् नभएको लिङ्देनले बताए ।
टिप्पणीहरू