एमालेले उम्मेदवारी नदिएपछि ललितपुरमा काँग्रेस र माओवादी निर्विरोध

एमालेले उम्मेदवारी नदिएपछि ललितपुरमा काँग्रेस र माओवादी निर्विरोध

ललितपुरमा जिल्ला समन्वय समिति (जिसस) गठनमा नेपाली काँग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको छ । दुई दलले प्रमुख र उपप्रमुखसहित विभिन्न ‘क्लस्टर’ का सदस्य पदमा तालमेल गरेका हुन् ।

सोहीअनुसार सबै पदमा उम्मेदवारी दर्ता भएको छ । यी दुई दलको स्पष्ट बहुमत पुग्ने भएपछि नेकपा एमालेबाट भने कुनै पनि पदमा उम्मेदवारी नै परेन ।

एमालेले उम्मेदवारी नदिएपछि काँग्रेस जिल्ला कार्यसमिति ललितपुरका सहसचिवसमेत रहेका महाँकाल गाउँपालिका वडा नम्बर–३ बाट सदस्य पदमा निर्वाचित ऋषिदेव फुयाँल प्रमुमा निर्विरोध निर्वाचित भएका छन् । उपप्रमुखमा माओवादी केन्द्रबाट बागमती गाउँपालिकाका रामलाल थिङ निर्विरोध भए ।

खुल्ला सदस्यमा काँग्रेसका दिनेश घोरसाइने, हरिहर कार्की र माओवादीका साधुराम श्रेष्ठले जितेका छन् । अल्पसंख्यकमा काँग्रेसकै सुबेरबहादुर पहरी, महिला सदस्यमा माओवादी केन्द्रकी शोभा महर्जन, काँग्रेसकी गीता खड्का र शोभा कार्की निर्वाचित भएको काँग्रेस ललितपुरका प्रवक्ता सन्तोषराज केसीले जानकारी दिए । उनीहरू सबै निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचित पदाधिकारी एवम् सदस्यहरूलाई आज जिल्ला निर्वाचन कार्यालयले निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्ने र शपथ ग्रहण गराउने कार्यक्रम छ ।

गत वैशाख ३० गते भएको निर्वाचनमा काँग्रेसले चार वटा स्थानीय तहमा प्रमुख, तीनमा उपप्रमुख र ७१ मध्ये ३८ वटा वडामा जितेको थियो । सोहीअनुसार काँग्रेसले तालमेलको क्रममा प्रमुख पद पाएको हो ।

टिप्पणीहरू