काँग्रेस नेतृ डीला निहारिकाको पक्षमा
विगत चार दिनदेखि न्याय माग्दै काठमाडौंको वसन्तपुरमा अनसनरत धनुषाकी निहारिका राजपुतलाई महिला अधिकारकर्मीहरुले साथ दिएका छन् । २१ महिनाको दुधे बालक च्यापेर भोको पेट अनसन बसिरहेकी कुमारी आमा निहारिकाले न्याय पाउनुपर्ने मागमा काँग्रेसकी नेतृ डा.डीला संग्रौलाले समर्थन गरेकी छन् ।
सामाजिक सञ्जालमा स्टाटस् लेख्दै उनले १७ वर्षको उमेरमा बलात्कृत निहारिकाको मुद्दा अघि बढाउन सम्बन्धित निकायलाई आग्रह गरेकी छन् । नेतृ संग्रौलाले भनेकी छन्, ‘ढिलो न्याय पाउनु भनेको न्याय नपाउनु सरह हो । हाम्रो संविधानले सबै नागरिकलाई सम्मानजनक बाँच्ने अधिकार दिएको छ । निहारिका र उनको बच्चालाई पनि दिनुपर्छ ।’
यता, राष्ट्रिय महिला आयोग र राष्ट्रिय मानवअधिकार आयोगले पनि निहारिकालाई साथ दिएका छन् । निहारिकाको माग सम्बोधन हुनुपर्नेमा आयोग दृढ देखिन्छ ।
त्यसैगरी, महिला अधिकारकर्मी मोहना अन्सारीले पीडितको हकको रक्षा गर्न स्वायत्त संस्था किन असफल भयो ? भन्दै प्रश्न तेर्साएकी छन् । निहारिका आफ्नो छोराको डीएनए टेष्ट, अपराधीलाई सजायलगायत माग राखेर अनसन बसेकी हुन् ।
टिप्पणीहरू