प्रेस काउन्सिलले चुनावका लागि आचारसंहिता सिकाउने

प्रेस काउन्सिलले चुनावका लागि आचारसंहिता सिकाउने

प्रेस काउन्सिल नेपालले पत्रकारलाई दुई हप्ते निःशुल्क तालिम दिने भएको छ । निर्वाचन केन्द्रित रिपोर्टिङ गर्ने पत्रकारलाई लक्षित गर्दै काउन्सिलले पत्रकार आचारसंहिताबारे तालिम दिन लागेको हो । काउन्सिलले आज एक सूचनामार्फत आगामी असार १३ गतेबाट दुईहप्ते तालिम शुरु गरिने जनाएको छ ।

‘पत्रकारको दक्षता अभिवृद्धिको लागि निर्वाचन केन्द्रित रिपोर्टिङ गर्ने पत्रकारलाई लक्षित गर्दै प्रेस काउन्सिल नेपालको सहयोग र समन्वयमा नेपाल प्रेस इन्स्टिच्यूटले पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता विषयक तालिम आयोजना गर्ने भएको छ‘, सूचनामा उल्लेख छ ।तालिम बिहान ७ बजेदेखि ११ बजेसम्म लिन सक्ने काउन्सिलले जनाएको छ । त्यसको लागि इच्छुक पत्रकारले आफ्नो व्यक्तिगत विवरण र संलग्न मिडियाको नामसहित असार ६ गतेसम्म काउन्सिलमा निवेदन पेश गरि सक्नुपर्ने छ । उक्त तालिम भौतिक रुपमा नभई अनलाइन जुम, गुगल मिटमार्फत सञ्चालन गरिने काउन्सिलले बताएको छ ।

‘सहभागीले तालिमबापत कुनै शुल्क तिर्नु पर्ने छैन । अनलाइन जुम, गुगल मिटको प्रबन्ध आफै मिलाउनुपर्ने छ । तालिममा नियमित सहभागी भई सम्पूर्ण प्रक्रिया पूरा गर्ने प्रशिक्षार्थी र पत्रकारलाई प्रमाणपत्र प्रदान गरिने छ‘, सूचनामा लेखिएको छ ।

टिप्पणीहरू