सचिवहरुको क्षमता एक महिनामा स्वाहा

सचिवहरुको क्षमता एक महिनामा स्वाहा

नेपाल सरकारका सचिव र सहसचिवहरुको क्षमता ३० दिनमा स्वाहा भएको छ । दूरदर्शी दृष्टिकोण राख्न नसकेको र संकुचित आकांक्षाको उदाहरण आइतबारे बिदा भएको छ ।

सातामा दुई दिन बिदाले कर्मचारी र कार्यालयको क्षमता तथा उत्पादकत्व बढ्ने, प्रशासन चुस्त हुने, सर्वसाधारण लाभान्वित हुने कोरा मनगढन्ते आधारमा सिफारिस भएको साताको दुई दिन बिदा दिने क्याबिनेटको निर्णय पर्सिदेखि खारेज हुने भएको हो ।

यसअघि सबै मन्त्रालयका सचिव र केही प्रभावशाली सहसचिवहरुको लहैलहैमा सरकारले गत वैशाखमा सरकारी कार्यालयको खर्च घटाउने बहानामा जेठ १ गतेदेखि साताको दुई दिन बिदा दिने निर्णय गरेको थियो ।

उक्त बिदाले सर्वत्र विवाद निम्त्याएको, सर्वसाधारणले दुःख पाएको र राज्यको स्रोत साधनको थप दुरुपयोग भएको खबर सार्वजनिक भएपछि सरकार आफ्नो निर्णय फिर्ता गर्न बाध्य भएको हो । गृह मन्त्रालयले आज जारी गरेको सूचनामा जेठ २३ गतेको क्याबिनेटको निर्णयानुसार दुई दिने बिदाको निर्णय खारेज भएको औपचारिक जानकारी दिएको हो ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले असार १ गतेदेखि जेठ १ गते अघिको झैँ पूर्ववत् बिदा र कार्यालय समय तोकिएको बताएका छन् ।

टिप्पणीहरू