प्रकृतिको पूजा गर्न रोल्पामा दुई दिन बिदा
रोल्पाको थवाङ गाउँपालिकाले भूम्यापूजा (भूमे) को अवसरमा दुई दिन सार्वजनिक बिदा दिएको छ । भूमे पर्वको उपलक्ष्यमा गाउँपालिकाले भोलि र पर्सि सार्वजनिक बिदाको घोषणा गरेको हो ।
पालिकाले मगर समुदायको महानपर्व भूमे पूजामा सम्पूर्ण सरकारी कार्यालय, संघसंस्था बन्द रहने जानकारी गराएको छ । प्राकृतिक विपत्तिबाट जोगिने विश्वासका साथ प्रकृतिको पूजा गरी यो पर्व मनाउने गरिन्छ ।
बाढी, पहिरो, हुरी बतासजस्ता प्राकृतिक प्रकोपबाट बच्न र राम्रो खेतीपातीको कामना गर्दै भूमिमाताको पूजा गर्ने चलन छ । धुमधामका साथ मनाइने यो पर्वमा हरेक गाउँमा मेला आयोजना गरिन्छ ।
पहिले यो चाड एक महिनासम्म मनाइन्थ्यो । तर, अहिले घटेर तीनदेखि सात दिनमा सीमित बनेको हो । रोल्पा, रुकुम, सल्यान, पाल्पा, दैलेख, जाजरकोट आदि जिल्लाका मगर जातिले भूमे पर्व मनाउने चलन छ ।

टिप्पणीहरू