दलहरुमा किर्ते काण्ड, एक ब्यक्तिको दुईतिर दस्तखत
पार्टी विभाजनको तयारीस्वरूप समानान्तर भेला बोलाएको सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)को बाबुराम भट्टराई खेमामाथि कार्यालय प्रमुखको हस्ताक्षर किर्ते गरेर संस्थापन पक्षको बैठक भाँड्न खोजेको आरोप लागेको छ ।
जसपामा दुईपक्षीय विवाद बढ्दै गएपछि अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सहमतिमै आ-आफ्नो बाटो लाग्ने सहमति गरेको चर्चाबीच अलग-अलग बैठक बोलाइएको थियो । अध्यक्ष उपेन्द्रले असार २९ र ३० गते मधेस प्रदेशको वीरगंजमा बस्ने गरि बैठक बोलाएका थिए । असार २४ गते बैठकबारे जानकारी दिन कार्यालय प्रमुख प्रकाश अधिकारीले हस्ताक्षर गरेको आधिकारिक सूचना निकालेका थिए । त्यसको काउन्टरमा बाबुराम पक्षले सोही दिन काठमाडौँमा बिस्तारित भेला बोलाएको थियो ।
तर, आज एकाएक उपेन्द्र पक्षको बैठक काठमाडौँमा सरेको भन्दै प्रकाश अधिकारीकै हस्ताक्षरमा अर्को सूचना सार्वजनिक भयो । जसपाको लेटरप्याडमा असार २४ कै मिति राखेर सार्वजनिक गरिएको उक्त सूचनामा वीरगंजको बैठक काठमाडौँमा सारिएको भन्दै सोहीअनुसार उपस्थित हुन् केन्द्रीय सदस्यहरुलाई आह्वान गरिएको छ । त्यसैलाई आधार मानेर सञ्चार माध्यमहरुले समाचार पनि सम्प्रेषण गरे ।
तर, उक्त सूचना आधिकारिक नभएको र बाबुराम समूहले हस्ताक्षर दुरुपयोग गरेको उपेन्द्र पक्षका नेताहरुको आरोप छ । अध्यक्ष उपेन्द्रका प्रेस संयोजक महेश चौरासियाले केन्द्रीय सदस्यहरुमा भ्रम सृजना गरेर आफ्नो पक्षमा संख्या बढी देखाउन आधिकारिक सूचनालाई तोडमोड गरेर पूर्व नयाँ शक्तिका नेताहरुले बेइमानी गरेको बताए ।
वीरगंज बैठक भाँड्न नियोजित रुपमा हस्ताक्षर दुरुपयोग गरेर नक्कली सूचना निकालेको भन्दै उनले निर्धारित मिति र स्थानमै बैठक हुने भएकाले यस्ता कुनै पनि भ्रममा नपर्न केन्द्रीय सदस्यहरुलाई आग्रहसमेत गरेका छन् । ‘हाम्रो बैठक वीरगंजबाट काठमाडौँ सरेको भन्ने कुरा गलत हो । नयाँ शक्तिका मान्छेहरुले कन्फ्युजन कृयट गर्न खोजेका हुन्’, चौरासियाले भने, ‘अहिले केन्द्रीय सदस्य सबैलाई फोन गर्न सम्भव हुँदैन । त्यसैले सूचना तोडमोड गरेर भ्रम सृजना गरिएको हो ।’
टिप्पणीहरू