रसुवागढीबाट आयात निर्यात सुचारु, हिल्सामा बन्दरगाह खोल्ने सहमति

रसुवागढीबाट आयात निर्यात सुचारु, हिल्सामा बन्दरगाह खोल्ने सहमति

नेपाल र चीन रसुवागढी–केरुङ नाकामा दुईतर्फी व्यापार सञ्चालन गर्न सहमत भएका छन् । हिजो सम्पन्न नेपाल–चीन सीमासम्बन्धी परामर्श बैठकपछि दुवै पक्ष उक्त सहमतिमा पुगेका हुन् ।

बैठकमा चीनले स्वास्थ्य मापदण्ड पालना गर्दै उक्त नाकाबाट दुवै मुलुकमा सामान आयात तथा निर्यात सुचारु गर्न सहमति जनाएको हो । साढे दुई वर्ष अघिदेखि उक्त नाका कोभिड–१९ का कारण बन्द थियो ।

हिजो आयोजित सीमासम्बन्धी भर्चुअल परामर्श बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका उत्तर पूर्वी एसिया महाशाखा प्रमुख लोकबहादुर थापा र चिनियाँ टोलीको नेतृत्व विदेश मन्त्रालयको सीमा तथा समुन्द्रसम्बन्धी मामिला विभागका महानिर्देशक होङ लियाङले गरेका थिए ।

बैठकमा नेपाल र चीनबीच हुम्लाको हिल्सा–पुराङ सीमा बन्दरगाह खोल्ने निर्णय पनि भएको छ ।

कोरोनापछि रसुवागढी नाका केही समय खोले पनि चीनले एकतर्फीरुपमा नेपालमा तोकिएको मात्रामा सामग्री पठाउँदै आइरहेको थियो ।

परराष्ट्र मन्त्रालयले हिजो जारी गरेको विज्ञप्तिमा नेपाल र चीनबीच आयात निर्यात व्यापारका लागि महामारी रोकथाम र नियन्त्रण संयन्त्र स्थापना गर्ने सहमति भएको उल्लेख छ ।

टिप्पणीहरू