मुलुकको सबै सूचना प्रविधि संयन्त्र पौडेलहरुको हातमा

मुलुकको सबै सूचना प्रविधि संयन्त्र पौडेलहरुको हातमा

पछिल्लो समय एउटा अनौठो संयोग देखिएको छ । सूचना प्रविधि र सञ्चार क्षेत्रको माथिल्ला तहमा पौडेल थरकाहरु भटाभट नियुक्त हुन थालेका छन् । ती पनि अन्यत्रका होइनन्,सबै पर्वत जिल्लाका र एउटै खलकका ।

सरकारले हालै राष्ट्रिय सूचना प्रविधि केन्द्र अर्थात एनआईआईटीसीमा कार्यकारी नियुक्त गरेको छ । क्याबिनेटको गत असार २४ गतेको निर्णयानुसार उक्त पदमा नियुक्त प्रदीप शर्मा पौडेल पर्वतको कुश्मा नगरपालिका-१० का वासिन्दा हुन् । भलै त्यहाँका कतिपय पौडेल बसाइँ सरेर चितवन झरेका छन् ।

तर जहाँ गए पनि ती पौडेल सबै एउटै खलकका हुन् । उनीहरु १३ दिने दाजुभाइ खलकका भएकाले जहाँ बसे पनि नातेदारको निधनमा कपाल मुण्डन गर्दछन् । यसअघि सेक्युरिटी प्रेसका विकल पौडेल र टेलिकमका सुनिल पौडेल त्यही नाताका दाजुभाइ हुन् ।पछिल्लो पटक सूचना र प्रविधिको क्षेत्रर्फ विकल पौडेलको चर्चा व्यापक छ । अहिले त्यसैमा प्रदीप पौडेल थपिएका हुन् ।

एनआईआईटीसीमा कार्यकारी नियुक्त पौडेलले यसअघि काठमाडौंको सेन्ट जेभियर्स कलेजमा १० जोड दुई पढाउँथे । हुन त उनले विज्ञान विषयमा स्नातकोत्तर गरेका छन् । तर एनआईआईटीसीमा कार्यकारी हुन योग्यता नै पुग्दैन भनिन्छ । यसका वावजुद च्यानल मिलाएर पौडेलको नियुक्ति भएको सञ्चार मन्त्रालय स्रोतको दाबी छ ।

उक्त केन्द्रको कार्यकारी निर्देशक हुन विज्ञान,अर्थशास्त्र र सूचना प्रविधिलगायत तोकिएका विषयमा स्नातकोत्तर गरेको हुनुपर्छ । योग्य उम्मेदवारको निम्ति कार्यअनुभव पनि उल्लेख छ । जसमा सूचना प्रविधि क्षेत्रमा १० वर्षको अनुभव वाञ्छनीय भनिएको छ । पौडेलसँग योग्यताको नाममा विश्वविद्यालयको प्रमाणपत्र मात्र रहेको बताइन्छ ।

योग्यता नपुग्दा नपुग्दै पनि कसरी कार्यकारी नियुक्त भए ? भनेर पराजित उम्मेदवारले गरेको सोधखोज यस्तो पाइएको छ : उनी मुख्यसचिव शंकरदास बैरागीका साढु भाइ र सालीका छोरा रहेछन् । सञ्चार मन्त्रालयअन्तर्गतको भएकाले मन्त्रालयले सिफारिस गर्ने भइहाल्यो । १३ जनाले आवेदन हालेका थिए । तर १० जनालाई प्रारम्भिक चरणबाटै बिदा गरियो ।

गत जेठ १३ गते सञ्चार मन्त्रालयले सूचना जारी गर्दै आवेदन मागेको थियो । मन्त्रालयका सचिव बैकुण्ठ अर्यालको अध्यक्षतामा बनाइएको छनौट समितिले उत्कृष्ट तीन जनाको नाम सिफारिश गर्यो । पछि मन्त्रिपरिषदबाट एक जना नियुक्त गर्नुपर्ने व्यवस्थाबमोजिम ठूलो बुबा रहनुभएको क्याबिनेटबाट सजिलैसँग निर्णय भयो ।

पौडेललाई नजिकबाट चिन्नेहरु भन्छन्, ‘उनी राजनीतिक पनि होइनन् । उनलाई पार्टी सार्टीको मतलब छैन । कहिलकाँही साथीभाइहरुसँग बस्ने,खाने गर्छन् ।’

हतियार दलाल दिपक भट्टको जोडबल पनि पाएका विकल पौडेल र नेपाल टेलिकमका सुनिल पौडेल प्रदीप शर्माका १३ दिने दाजुभाइ खलक हुन् । विकल पौडेल काँग्रेस नेता तथा पूर्वमन्त्री नारायण पौडेलका नातेदार पनि हुन् । उनीहरु पर्वतको ङ्यादीबाट अलि अगाडि नै चितवन झरेका थिए ।

सेक्युरिटी प्रेस खरिदलगायका कार्यमा यो समूहको काम,अहिलेको नियुक्तिलाई एकै ठाउँमा राखेर हेर्नुपर्ने बताइन्छ । अहिले पौडेललाई एनआईआईटीसीमा ल्याउन ठूलै खेल खेलिएको भन्नेहरु धेरै छन् । यहि सन्दर्भमा भन्न थालिएको छ, ‘संयोग हो कि कथाको माग हो कुन्नि,मुलुकको सूचना प्रविधि क्षेत्र अहिले पौडेलहरुको हातमा छ,चाहे त्यो काङ्ग्रेस सभापतिमा देउवाको सहज निरन्तरता नै किन नहोस् ।’

टिप्पणीहरू