५८ लाख बुझ्ने, विदेश नपठाउनेविरुद्ध मुद्दा दायर
वैदेशिक रोजगारी विभागले सर्वसाधारणलाई ठगेको आरोपमा अल अरेबिया ओभरसिज प्रालिविरुद्ध मुद्दा दायर गरेको छ । वैदेशिक रोजगारीका लागि पोल्याण्डलगायत मुलुकमा पठाइदिने आश्वासन दिएर ठगी गरेपछि विभागले आज वैदेशिक रोजगार न्यायाधीकरणमा मुद्दा दायर गरेको हो ।
कार्यालयका सञ्चालक तथा कर्मचारीहरुले आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीमा लैजाने भनेर ५८ लाख रकम र राहदानी बुझेका थिए । तर, कम्पनीले विदेश पनि नपठाएको र लिएको रकम तथा राहदानी फिर्ता नगरी ठगी गरेको भन्दै पीडितहरुले विभागमा उजुरी दिएपछि अनुसन्धान अघि बढाइएको थियो ।
अनुसन्धानको क्रममा कसूर पुष्टि हुन आएको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले बताए । कम्पनीका सञ्चालक अमरबहादुर गुरुङ्ग, भरतबहादुर बुढाथोकी र मोहनप्रसाद चापागाईले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ बमोजिम कसूर गरेको उनको भनाइ छ ।
उनीहरुले ठगेको रकमको ५० प्रतिशत हर्जना क्षतिपूर्तिवापत ८७ लाखको मागदाबीसहितको अभियोगपत्र न्यायाधीकरणमा दर्ता गरिएको छ ।
टिप्पणीहरू