दशा हटाउने संकटा मन्दिर आफै संकटमा

दशा हटाउने संकटा मन्दिर आफै संकटमा

काठमाडौँको टेबहालस्थित संकटा मन्दिर चर्चित छ । 

यो मन्दिर नयाँ सडकस्थित नेपाल वायुसेवा निगम कार्यालय पछाडिको गल्लीमा पर्दछ ।

यस मन्दिरमा विशेष गरी शनिवार तथा दश‌ँको बेला ठूलो भीड लाग्ने गर्दछ ।

सदाको झैं हिजो शनिवार बिहान पनि भक्तजनहरुको भीड उस्तै थियो । संकटा गएपछि शनिश्चरको दशा शान्त हुने भक्तजनहरुको विश्वास छ।

बिहान ७ बजेदेखि नै भक्तजनहरुको भीड लाग्ने उक्त मन्दिरमा वरिपरि  फूल,प्रसाद बेच्नेको पनि लस्कर थियो ।

बिहानै ५ सयभन्दा बढी भक्तजन पूजाको लागि लाइनमा बसिसकेका थिए। सूर्य उदय भइसके पनि मन्दिरमा घामको किरण भने परेको थिएन । चिसो सिरेटो चलिरहेको थियो । सबै भक्तजन अग्ला घरको छेउबाट लाइन बसेका थिए। 

लाइन लागेका केही  भक्तचाहिँ घरको छततिर हेर्दै भनिरहेका थिए : 'आबुइ ! कति अग्लो घर बाइ,भूकम्प आयो भने के होला ? दशा फाल्न आएको संकटामा,यही घरले संकट ल्याइदिने डर,हेर त कस्तो चर्किएको रहेछ,छत नै कोल्टे परेको जस्तो देखिन्छ ।"

"उता सर कान्छी उता,डर लाग्यो मलाई,कति अग्लो घर ?'



भक्तजनहरुको आवाजले पच्छ्याएपछि हामी सोही स्थानमा पुग्यौँ,नभन्दै टेबहालको खोँचमा थियो संकटा मन्दिर ।

मन्दिर छेउको एउटा घरको छत भने पुरै कोल्टे थियो ।

त्यही घरमा पनि अनेक कम्पनी र संघ संस्थाका अफिसको बोर्ड ।

दुई  घण्टा लाइनमा बस्न त भक्तजनहरु डराउँछन्,तपाईहरुलाई डर लाग्दैन ? भन्ने प्रश्नमा स्थानीयको जवाफ थियो,"डर हराइसक्यो ।'

वरिपरिका गगनचुम्बी घरहरुले बिहानको सूर्य उदय साथै मन्दिरको सौन्दर्य पनि छेकिरहेको थियो।  तर, एक्कासी कुनै बिपत्ति आइपर्यो भने बस्ति नै सधैंको लागि नछेकिएला भन्न सकिन्न ।

बस्ति बस्तिमा डोजर लिएर पुग्ने काठमाण्डौ महानगरको नेतृत्वलाई संकटा मन्दिर वरिपरिको गगनचुम्बी भवनहरुले गिज्याइरहे झैं लाग्छ ।

टिप्पणीहरू