पुल अलपत्र, जनप्रतिनिधि घुमघाममा मस्त

पुल अलपत्र, जनप्रतिनिधि घुमघाममा मस्त

छ महिनादेखि पुल अलपत्र पर्नाले कालिकोटका स्थानीयले सास्ती भोगेका छन् । तर स्थानीय पालिका प्रमुख भने सहर घुम्न व्यस्त रहेको आरोप लागेको छ । शुभकालिका गाउँपालिका वडा नम्बर ६ हाउडीमा बिग्रेको झोलुङ्गे पुल विगत छ महिनादेखि अलपत्र छ । 

गत बर्खामा बिग्रिएको उक्त झोलुङ्गे पुल मर्मतमा कुनै पनि जनप्रतिनिधिले वास्ता नगरेको उनीहरु बताउँछन् । स्थानीयले घाँस दाउरा गर्दा र विद्यार्थीहरु स्कुल जाँदासमेत ज्यान जोखिममा राख्नुपरेको सोही वडाबासी तथा समाजसेवी पुष्पराज आचार्यले गुनासो गरे ।

‘म आफै एक समाजसेवीको हिसाबले सबै मिलेर स्थानीय सरकार तथा वडासमक्ष धेरै पटक गुनासो राख्यौं तर, कहिले पनि सुनुवाई भएन,’ उनले अगाडि भने, ‘कहिले पालिकामा कर्मचारी नभएको र कहिले बाहिर काममा व्यस्त भनेर आलटाल गरे । पुलमा धेरै काम देखिँदैन । एउटा लठ्ठा गाँसेमा हिँडडुल गर्न सकिन्छ । तर अहिले कतिबेला कसलाई के हुने हो, थाहा छैन,’ उनले भने ।

यति धेरै आवश्यकीय काममा जनप्रतिनिधिले लापरवाही गरेको गाउँलेको भनाइ छ । थोरै खर्चेर मर्मत गर्दा काम चल्ने भए पनि पालिका अध्यक्षको ध्यान कहिल्यै नगएकोमा उनीहरुले दुःख व्यक्त गरेका छन् । 

गाउँको अवस्थालाई लथालिङ्ग पारेर पालिका अध्यक्ष काठमाडौं गएको र वडा अध्यक्ष आफ्नै सुरमा देखिएको सोही वडाका निवर्तमान अध्यक्ष कर्णबहादुर केसीले जनआस्थासँगको कुराकानीमा बताए । स्थानीयको उक्त गुनासोबारे प्रमुख गोविन्दप्रसाद आचार्यलाई ९८६८२२८८१७ मा पटक–पटक सम्पर्क गर्दा पनि उनी बोल्न चाहेनन् ।

स्थानीयले गुनासो नसुनेपछि बाध्य भएर पुलको फोटो सामाजिक सञ्जालमा राख्न बाध्य भएको बताएका छन् ।

टिप्पणीहरू