नेपाली साहित्य उर्दु भाषामा प्रकाशित

नेपाली साहित्य उर्दु भाषामा प्रकाशित

पाकिस्तान एकेडेमी अफ लेटर्स, इस्लामावादले नेपाली कविका प्रतिनिधि कविता पाकिस्तानको राष्ट्रभाषा उर्दुमा अनुवाद गरेको छ । विभिन्न कविहरुको प्रतिनिधि कविताको संग्रह ‘नेपालको आवाज’ उर्दुमा प्रकाशन गरिएको छ । धरणीधर कोइरालाको नेपाल, महानन्द सापकोटाको अब, लेखनाथ पौड्यालको पिंजराको सुगा, गोपालप्रसाद रिमालको आमाको सपना, सिद्धिचरण श्रेष्ठको आफ्नो परिचय, भवानी भिक्षुको दुःखको कथाजस्ता महान् कविहरुले लेखेका कविता उक्त संग्रहमा छ । 

त्यस्तै, केदारमान व्यथितको चङ्गा, माधवप्रसाद घिमिरेको कालीगण्डकी, विजय मल्लको छोरीलाई नक्शा पढाउँदा, भीमनिधि तिवारीको जाग एसिया जाग, मोहन कोइरालाको सारङ्गी, जगदीश समशेर राणाको केटी शहर जान्छे, तुलसी दिवसको बलेको दियोको तल, नवराज लम्सालको हरसालको एक उच्च हल्लाखल्लालगायत अन्य थुप्रै प्रसिद्ध कविता संग्रहमा समाहित छन् ।

 

जियाउल मुस्तफा तुर्क, सैयद कासिफ रजा, मुनिर फैयाजले १०८ वटा कविता उर्दु भाषामा अनुवाद गरेको बताइएको छ । बाहिरी आवरणसहित ३८५ पृष्ठको संग्रहमा पछिल्लो एक शताब्दीमा लेखिएका नेपालका मुर्धन्य साहित्यकारका कविताहरु समेटिएका छन् । 

उर्दुमा नेपाली कविता, रचना प्रकाशन हुँदा नेपाली साहित्यले विश्वमा पहिचान पाउने विश्वास लिइएको छ । त्यस्तै, पाकिस्तानी साहित्यकारलाई नेपाली साहित्यको स्वाद पस्किने अवसर मिल्ने साहित्यअनुरागीहरुको भनाइ छ । 

अर्कोतर्फ यसले दुई मित्रराष्ट्रबीच साहित्यको माध्यमबाट सहयोग आदानप्रदान हुने र द्विपक्षीय समझदारी वृद्धिमासमेत सहयोग पुग्ने बताइन्छ । उक्त अनुवाद र प्रकाशनमा पाकिस्तानस्थित नेपाली राजदूतावासले सहजीकरण गरेको हो ।

टिप्पणीहरू