आगामी राष्ट्रपतिबारे एमाले र माओवादी टसका मस

आगामी राष्ट्रपतिबारे एमाले र माओवादी टसका मस

नेकपा माओवादी केन्द्रले आगामी राष्ट्रपति निर्वाचनमा सबै दलसँग छलफल गर्ने र राष्ट्रिय सहमतिमै राष्ट्रपति छान्ने भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा हिजो र आज बसेको स्थायी कमिटी बैठकले राष्ट्रपति निर्वाचनमा  राष्ट्रिय सहमति कायम गर्ने निर्णय सर्वसम्मत पारित गरेको बताइएको छ ।

तर, एमाले नेताहरुले भने यसअघिको सहमतिबमोजिम राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई नै सहमतिमा निर्वाचित गराउने बताएका छन् । महासचिव शंकर पोखरेलले ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै मुलुकलाई राष्ट्रपतिको चुनावमा खोंचे थापेर राजनीतिक अस्थिरताको दुश्चक्रमा फसाउने कोशिस भइरहेको बताएका छन् ।

पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले सत्ता गठबन्धनको समझदारीबमोजिम नै राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउने बहस शुरु भएको जानकारी दिएका छन् । उनले प्रेस चौतारी नेपाल पाल्पाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा उक्त धारणा राखेका हुन् । 

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थायित्वका लागि एक महिनाअघि बनेको समीकरण टुट्न दिन नहुने भनेका छन् । उनले भने, ‘अहिले बनेको समीकरणअनुसार नै अगाडि बढ्नुपर्छ ।’ पोखरेलले उक्त धारणा दोलालघाटमा व्यक्त गरेका हुन् ।

टिप्पणीहरू