कुनै मन्त्रीलाई गाडी मिलेन, कुनैलाई क्वार्टर

कुनै मन्त्रीलाई गाडी मिलेन, कुनैलाई क्वार्टर

सरकारी गाडीदेखि क्वार्टरसम्म चित्त नबुझेपछि हालै सिंहदरबार छिरेका ‘नयाँ जोगी’हरूको हारगुहार हेर्नलायक छ । तिनमा ‘आमाको रगत खानु र भ्रष्टाचार गर्नु’ उस्तै हो भन्ने मूल मन्त्र बनाएका राजेन्द्र लिङ्देनको पार्टीबाट २ अर्ब भ्रष्टाचारमा संलग्न विक्रम पाण्डेदेखि गैरनागरिक रवि लामिछानेसम्म छन् । उनीहरूमध्ये केहीलाई राज्यले उपलब्ध गराएको सुविधासम्पन्न सवारीमा ‘रस’ बसेको छैन भने क्वार्टरमा समेत चित्त नबुझाएर शहरी विकास मन्त्रालयका कर्मचारीसँग समेत ‘कचकच’ चलिरहेकै छ । 

मन्त्री पाण्डेले राज्यले उपलव्ध गराएको सवारी सस्तो भएको भन्दै आफ्नै मन्त्रालयका अधिकारीसँग गनगन गरेका छन् । पुल्चोकस्थित क्वार्टरको विषयलाई लिएरसमेत उनले कर्मचारीसँग गुनासो पोख्न थालेका छन् । शहरी मन्त्रालयका कर्मचारीका अनुसार पाण्डेका लागि राज्यले उपलव्ध गराएको गाडी हो बा २ झ ३८४३ नम्बरको । यो गाडी चित्त नबुझेर अर्काे खोज्नु भनेका छन् । आफूले पहिले चढ्दै आएकोभन्दा राज्यले उपलब्ध गराएको सवारी सस्तो भयो भन्ने उनको चित्त दुखाइ रहेको ती सहसचिवले बताए । मन्त्रीज्यू चढ्दै आएको गाडी एक करोडभन्दा बढी मूल्यको होला । तर सरकारले दिएको सवारी सस्तो भयो भन्ने गुनासो छ । सवारी होचो भएकोमा आपत्ति जनाएका पाण्डेले क्वार्टरकै विषयमा पनि गुनासो गरेका छन् ।

विभागीय मन्त्रीकै भागमा पुरानो क्वार्टर परेपछि यसै सन्दर्भलाई समेत लिएर कचकच शुरु भएको बताइन्छ । मन्त्री क्वार्टर ०३२ सालमै बनेको हो, त्यहाँ ए देखि डीसम्म ४ वटा ब्लकसहितका १९ वटा क्वार्टर छन् । ए वानभित्र ५ वटा ब्लक पर्दछन् । ए वनमा भूमिव्यवस्था मन्त्री राजेन्द्रकुमार राई, ए टुमा विक्रम पाण्डे, ए थ्रीमा खानेपानीमन्त्री अब्दुल खान, ए फोरमा रक्षामन्त्री हरि उप्रेती र ए फाइभ ब्लकमा शिक्षामन्त्री शिशिर खनाल बस्न थालेका छन् । यस्तै ब्लक बीभित्र ४ वटा क्वार्टर छन् । त्यहाँ क्रमशः महिला, बालबालिकामन्त्री भगवती चौधरी, संस्कृतिमन्त्री सुदन किराँती, कानुन, न्यायमन्त्री ध्रुवबहादुर प्रधानसहित श्रममन्त्री डोलप्रसाद अर्यालले डेरा सारेका छन् । यस्तै ब्लक सीभित्रका ५ वटा भवनमा क्रमशः रेखा शर्मा, अमनलाल मोदी, पदम गिरी, डा. विमला राई पौड्याल र दामोदर भण्डारीले ठाउँ पाएका छन् । 

सबैभन्दा अत्याधुनिक मानिएको व्लक डी मा रहेका ५ भवन क्रमशः कृषिमन्त्री ज्वालाकुमारी साहसहित चार उपप्रधानमन्त्री रवि लामिछाने, राजेन्द्र लिङ्देन, विष्णु पौडेल र नारायणकाजी श्रेष्ठले उपयोग गर्दै छन् । विभागीय मन्त्रीलाई पुरानो क्वार्टर तर माओवादीबाट एमाले छिरेकी ज्वालाले अत्याधुनिक भवन पाएपछि शहरी मन्त्री पाण्डे कर्मचारीसँग झर्किन थालेका छन् । यता युवा तथा खेलकुद र वन तथा वातावरणमन्त्री नियुक्त नभएका कारण १९ मन्त्रीलाई १९ क्वार्टर ठिक्क छ नत्र क्वार्टरकै विषयमा मन्त्रीबीच विगतमाझैं मारामार हुने थियो । 

अर्काेतिर सस्तो लोकप्रियता र स्टण्टको पछि रमाइरहेका रवि लामिछानले राज्यले उपलव्ध गराएको बा १ झ ६४४३ नम्बरको गाडी थोत्रो भयो भन्दै कर्मचारीको सातो टिपेका छन् । पर्यटनमन्त्री सुदन किराँतीले मन्त्रालयमै चन्दा बाकस थापेर आलोचना खेपिरहेका बेला सिंहदरबार बाहिरको एक्लो मन्त्रालयमा चाहिँ मन्त्री र राज्यमन्त्रीबीच ट्युनिङ मिलेको छैन । सिंहदरबार बाहिर स्वास्थ्य मन्त्रीका रुपमा एमालेका पदम गिरी छन् । उनलाई क्रस चेक गर्न थालेपछि राज्यमन्त्री डा. तोसिमा कार्कीसँगको सम्बन्ध पहिलो गाँसमै ढुंगाजस्तो बन्न लागेको स्वास्थ्यका कर्मचारीले बताए । त्यहाँका कर्मचारीको पीडा छ, मन्त्री गिरीले हस्ताक्षर गरेका हरेक फाइल राज्यमन्त्री कार्कीले माग्न थालेपछि कर्मचारी आजित भएका छन् । 
 

टिप्पणीहरू