गुल्मीमा बृहत निःशुल्क स्वास्थ्य शिविर, एकैदिनमा छ सय बढीले लिए सेवा

गुल्मीमा बृहत निःशुल्क स्वास्थ्य शिविर, एकैदिनमा छ सय बढीले लिए सेवा

गुल्मी सिर्सेनी समाज रूपन्देहीले जिल्लाको सिर्सेनीमा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शनिबार सञ्चालन गरिएको शिविरमा छ सय जना बढीले सेवा लिएको जानकारी दिइएको छ ।

सिमली फाउण्डेसन नेपाल प्रालिको मुख्य प्रायोजन रहेको शिविरमा अन्य ११ वटा स्वास्थ्य सस्थाले पनि स्वास्थ्य सामग्री प्रदान गरेका थिए । नेपाली सेनाको मेडिकल टोलीले समेत सहयोग गरेको समाजका अध्यक्ष भीष्म अर्यालले बताए । 

कार्यक्रमको व्यवस्थापन मदाने गाउँपालिकाको कार्यालय, मदाने गाउँपालिकाको ३ नम्बर वडा कार्यालय सिर्सेनी र नेपाली सेनाको संग्राम सार्दुल गुल्म, गुल्मीले गरेको हो ।  फाउण्डेसनले  सञ्चालिका स्व. लिला अर्यालको स्मृतिमा मुख्य प्रायोजन गरेको सिमलिका सञ्चालक महेन्द्र अर्यालले जानकारी दिए । 

शिविरमा महिला ३ सय ५० र पुरुष २ सय ५७ गरी ६०७ जनाले स्वास्थ्य जाँच गराएका छन् । तीमध्ये जनरल फिजिसियनतर्फ ३१० जना, दन्त सेवामा २१० जना, आँखा सम्बन्धी १८५ जना, हाडजोर्नी तथा फिजियोथेरापीतर्फ ९५ जना, भिडियो एक्सरे १८० जना र मधुमेह जाँच एकसय जनाले गराएका थिए ।

शिविरमा एक जनाले एकभन्दा धेरै सेवाहरुसमेत उपयोग गरेको आयोजकले जानकारी दिएका छन् । फाउण्डेसनका सञ्चालक महेन्द्र अर्यालको जन्मस्थान पनि गुल्मी सिर्सेनी हो । अर्याल लामो समयदेखि रुपन्देहीमा डेण्टल क्लिनिक सञ्चालन गर्दै आएका छन् ।   उनी विभिन्न सामाजिक संघ संस्थासँग आबद्घ छन् ।  

स्वास्थ्य शिविरको मुख्य प्रायोजन गरेका अर्यालले स्वर्गीय पत्नीको सम्झनामा आफूले अक्षर शुभारम्भ गरेको रियाले मावि सिर्सेनीमा दुई लाख रुपैयाँको अक्षयकोषसमेत स्थापना गरेका छन् । उनले कोषलाई छिट्टै १० लाख पु¥याउने लक्ष्य राखेको बताएका छन् । 

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले यस्ता कार्यक्रमले स्वास्थ्य सेवाको पहँुचबाट टाढा रहेका सर्वसाधरणलाई स्वास्थ्य सेवाको अवसर प्रदान गरेको बताउँदै भने, ‘यस्ता कार्यक्रमले आगामी दिनमा निरन्तरता पाउनु पर्छ ।’ कार्यक्रममा समाजका उपाध्यक्ष ऋषि भट्टराईले समाजको उद्देश्य र लक्ष्यबारे प्रष्ट पार्दै उदार वा मनकारी संघ संस्थासँग जोडिएर समाजमा सेवा तथा विभिन्न विषयमा सचेतना प्रवाह गर्ने अन्तिम लक्ष्य रहेका प्रष्ट पारेका छन्् । 

कार्यक्रममा मदाने गाउँपालिकाका प्रमुख महेन्द्रबहादुर कुँवर, धुर्कोट गाउँपालिकाका प्रमुख भुपाल पोख्रेल, मदाने गाउँपालिकाकी उपप्रमुख सरिता खड्का, पूर्व जिल्ला शिक्षा अधिकारी डबल बहादुर बिसी, नेपाली सेनाका जिल्ला प्रमुख एवम् जिल्ला समन्वय समितिका अधिकारीहरुको उपस्थिति थियो । समाजले प्रमुख अतिथि, स्वास्थ्यकर्मी र विभिन्न व्यक्तित्वहरुलाई मायाको चिनो र सम्मानपत्र प्रदान गरेको थियो ।

टिप्पणीहरू